६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

‘लडाइँभन्दा जेल ठिक’ : धमाधम मुद्दा खेप्दै रुसका भगौडा सैनिकहरू

‘लडाइँभन्दा जेल ठिक’ : धमाधम मुद्दा खेप्दै रुसका भगौडा सैनिकहरू

न्युयोर्क- बीबीसी न्यूज रसिअनले गरेको एउटा अनुसन्धानमा रुसी अदालतहरूले उल्लेख्य मात्रामा भगौडा वा छुट्टीबाट नफर्केका सैनिकहरूको मुद्दा हेरिरहेका देखिएको छ। धेरैजसो भगौडा सैनिकले आफन्तकोमा आश्रय लिँदा उनीहरू समेत मुद्दा खेप्नुपर्ने जोखिममा पर्ने गरेका छन्।

सन् २०२३ को मार्च २३ को बिहान दक्षिणी रुसको स्टाभरोपोल क्षेत्रमा दिमित्री सेलिजिनेन्को नामका युवाले आफ्नी प्रेमिकालाई मोटरसाइकलमा चढाए। उनी प्रेमिकामार्फत् स्थानीय सरकारी कार्यालयमा आफूले तिर्नुपर्ने रकम भुक्तानी गर्न चाहन्थे।

छ महिनाअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको सैन्य परिचालनका क्रममा उनी युक्रेनमा लड्नका निम्ति छानिएका थिए। मार्च महिनासम्ममा उनी अग्रमोर्चामा सामेल भएको हुनुपर्थ्यो। तर १० दिन बिरामी बिदा बसेका उनी पुन: आफ्नो एकाइमा फर्किएनन्। त्यसले गर्दा उनी अहिले फरारको सूचीमा छन्।

गाउँ फर्किँदै गर्दा ती युवालाई विद्यालय पढ्दाका साथी आन्द्रेई सोभेरसेन्नोभले देखे। विद्यालयपश्चात् सोभेरसेन्नोभ प्रहरीमा भर्ती भएका थिए। सोभेरसेन्नोभले सैन्य प्रहरीलाई सतर्क गराए। त्यसलगत्तै प्रेमिकालाई कुरेर बसिरहेका सेलिजिनेन्कोलाई तीन जना मानिसले पक्राउ गर्ने कोसिस गरे।

सेलिजिनेन्कोले आफ्नी आमा र सौतेनी बाबुलाई सम्पर्क गर्न सफल भए र उनीहरूले उनलाई गाउँ लगे। त्यसपछि के भयो भन्नेबारे दुईथरीका भनाइ छन्। प्रहरीको भनाइअनुसार सौतेनी बाबु अलेक्स्यान्डर ग्राकोभ सेलिजिनेन्कोको हतकडी तान्दै “उसको सट्टा मलाई पक्राउ गर!” भन्दै चिच्याए। त्यसपछि उनले सेलिजिनेन्कोलाई भुइँमा लडाए र पिट्न थाले।

परिवारका मानिसहरूका कुराअनुसार, अलेक्स्यान्डर ग्राकोभले सौतेनी छोराविरुद्धको पक्राउ पुर्जी हेर्न खोजेपछि उनलाई धकेलेर लडाइयो र कुटियो। पछि दुवैजनालाई अस्पताल लगियो भने ग्राकोभमाथि प्रहरीमाथि हातपात गरेको आरोप लाग्यो। त्यसैबीचमा सेलिजिनेन्को आफ्ना अभिभावकको कार लिएर भागे। उक्त घटनाबारे गाउँलेहरू बीच ‘च्याट ग्रूप’मा बहस छेडियो।

सेलिजिनेन्कोका परिवारले उनीहरूका छोरा सेनामा भर्ती हुन उपयुक्त नै नभएको बताएका छन्। उनीहरूका अनुसार उनको राम्ररी स्वास्थ् परीक्षण पनि गरिएको थिएन र कोरोनाभाइरसको सङ्क्रमण देखिँदा देखिँदै पनि उनलाई अग्रपङ्क्तिमा पठाइएको थियो।

ज्यानुअरीको अन्त्यमा हिउँका कारण समस्या परेपछि उनलाई आराम गर्न पठाइयो। घर फर्किएको दुई दिनपछि उनको ग्यास्ट्रिकको शल्यक्रिया गरियो। तसर्थ उनी सेनाका निम्ति पूर्ण अयोग्य भन्दै सैन्य स्वास्थ्य आयोगका तर्फबाट जाँच गरिएको हुनुपर्थ्यो भन्ने परिवारजनको तर्क छ।

तर ‘च्याट ग्रूप’का सबै मानिसहरू उक्त तर्कप्रति सहानुभूति राख्दैनन्। त्यसको जबाफमा परिवारजनले छिमेकीहरूका निम्ति एउटा भावनात्मक पोस्ट गरेका छन्। “तपाईँ गाउँमा आरामले बसिरहनुभएको छ। तर तपाईँहरूमध्ये प्याटिगोर्स्क, बुड्योन्नोभ्स्क वा रोस्तोभको अस्पतालहरूमा रहेका घाइते सैनिकहरूलाई हेर्न को आउनुहुन्छ? अरूका बारेमा धारणा बनाउनुअघि दु:ख पाइरहेका आमा वा तिनका छोराको ठाउँमा बसेर सोच्नुहोस्।

तपाईँका श्रीमान र छोराहरू तपाईँकै वरपर छन्, त्यसैले त्यही कुरा आफूलाई नपरोस् भनेर प्रार्थना गर्नुहोस्।” न् २०२४ को मार्च महिनामा अलेक्स्यान्डर ग्राकोभ प्रहरीमाथिको हातपातको आरोपमा दोषी पाइए र १,५०० डलर जरिवाना लगाइयो। दिमित्री सेलिजिनेन्को सेनाको एकाइमा फर्किएनन् र उनको हालको अवस्था अज्ञात छ। त्यसमा संलग्न कसैले पनि बीबीसीसँग बोल्न चाहेनन्।

’सबै पुरुषजति हामीबाट टाढा लगिए’

स्टाभरोपोल क्षेत्रबाट सयौँ माइल टाढा रुसको अर्कोपट्टि बुर्‍यातिया रिपब्लिकका न्यायाधीशहरूसमक्ष दुई अन्य मुद्दाहरू प्रस्तुत गरियो। अदालतमा पेस गरिएकामा भिताली पेट्रोभ नामका सैनिक र उनकी सासू थिए। पेट्रोभ आफ्नो एकाइबाट भागेका थिए भने उनकी सासू लिडिआ सारेगोरोत्सेभामाथि प्रहरीले पेट्रोभलाई पक्राउ गर्न खोज्दा अवरोध गर्ने कोसिस गरेको आरोप छ।

बीबीसीले अदालती कागजात र सुरक्षाका कारण नाम खुलाउन नचाहने परिवारका मानिसहरूको बयानका आधारमा घटनालाई जोडेर बुझ्ने कोसिस गरेको छ। दुई सन्तानका पिता र शारल्डे गाउँका बासिन्दा ३३ वर्षीय पेट्रोभ सन् २०२२ मा युक्रेनविरुद्धको लडाइँका निम्ति छानिए।

उक्त क्षेत्र रुसको गरिब क्षेत्रमध्येको हो। बीबीसी र रुसको स्वतन्त्र समाचारसंस्था मिडियाजोनाका अनुसार सन् २०२२ को शरद्‌मा देशकै सर्वाधिक सैन्य परिचालन यसै क्षेत्रबाट भएको थियो भने हताहत हुने दर पनि सर्वाधिक थियो। यो वर्षको सुरुमा बिदा नलिईकन अनुपस्थित भएका उनलाई जबर्जस्ती फर्काइएपछि सैन्य अस्पतालमा राखिएको थियो। उनी सन् २०२३ को जुनमा त्यहाँबाट भागे।

टाउको दुख्ने समस्याका कारण उनी सेवाका निम्ति अयोग्य भएको बताउने सासूले त्यसबाहेक सेनामा छँदा पेट्रोभमाथि हिंसा तथा आर्थिक शोषण भएको अदालतसमक्ष बताइन्। सेनाका अभियोजकले पेट्रोभले अग्रमोर्चाको लडाइँ छल्ने कोसिस गरिराखेको बताए।

सन् २०२३ को ग्रीष्म र शरद्‍ यामभरि उनी सासूको घरमा लुकेर बसे। उनी दिनभरजसो नजिकै जङ्गलमा बस्थे, पाइन नट्स, च्याउ र बेरीहरू खोज्थे र राति कहिलेकाहीँ सुत्नका निम्ति घर आउँथे।

भगौडा सैनिकहरूलाई देशबाट भाग्न सघाउने ‘रन टू दी फरेस्ट’ नामको गैरसरकारी संस्थाकी ग्रिगोरी स्भेरद्लिनका अनुसार ३० प्रतिशतजति भगौडाहरू रुसमै छन् भने बाँकी विदेश भागिसके। मिडियाजोनाका अनुसार अदालतहरूमा १३ हजारभन्दा अधिक भगौडा र बिदा नलिईकन अनुपस्थित हुनेहरूको मुद्दा छ। सन् २०२३ को डिसेम्बरको एक रात पेट्रोभलाई पक्राउ गर्न हतियारधारी प्रहरी घरमा आइपुगे।

त्यसपछि के भयो भन्नेबारे दुईथरीका भनाइहरू छन्

सारेगोरोत्सेभाका अनुसार ढोका फोरेर प्रहरी भित्र छिरे। उनी र उनका दुईजना तर्सिएका नातिनीहरूलाई घचेड्दै पेट्रोभलाई खोज्न थाले। खोजीका क्रममा उनीहरूले भुइँका फल्याकहरूमा बन्चरो चलाए। उनका अनुसार प्रहरीले आफ्नो परिचयपत्र वा पक्राउ पुर्जी देखाएका थिएनन्।

तर अदालतका कागजातअनुसार प्रहरीले उनको भनाइलाई खण्डन गरेको छ। उनीहरूले उक्त स्थानमा खोजी कार्य नगरिएको र केही नचलाइएको बताएका छन्। प्रहरी र परिवार दुवै पक्षले आफू लुकिरहेको भूमिगत कोठाबाट पेट्रोभ बाहिर निस्कँदा उनका छोरीहरू उनीतर्फ भागेको बताएका छन्।

अदालतका कागजातहरूका अनुसार परिवारजन र प्रहरी दुवै पक्षले पेट्रोभलाई पक्राउ गर्ने क्रममा एकअर्कामाथि हिंसा भएको बताएका छन्। उनका छोरीहरूका अनुसार प्रहरीले पेट्रोभलाई घिसार्दै बाहिर लगे र ‘स्टनगन’ले कुटे। झगडाका क्रममा मुख्य अपराध अनुसन्धानकर्तालाई तातोपानीले पोलेका कारण अस्पताल लग्नुपरेको थियो।

पेट्रोभ र सारेगोरोत्सेभा दुवैविरुद्ध मुद्दा चल्यो। अनुमतिबिना अनुपस्थित भएकामा पेट्रोभलाई छ वर्षको जेल सजाय सुनाइयो। उनकी सासूलाई दुई वर्षको जेलसजायका साथै र धक्कामुक्काका क्रममा घाइते भएका प्रहरी अधिकारीका निम्ति क्षतिपूर्तिबापत एक लाख रुबल तिर्न निर्देशन दिइयो।

यस विषयबारे निकटका जानकार एक स्रोतले बीबीसीलाई बताएअनुसार भिताली पेट्रोभकी पत्नी उनका पति लडाइँको साटो जेल गएकामा खुसी छन्। बीबीसीको स्रोतले ग्रामीण क्षेत्रका मानिसमा युद्धको गहिरो प्रभाव परिरहेको बतायो।

“हाम्रो गाउँबाट सबै छोरामान्छेहरू लगिएका छन्। पशुहरूको रेखदेख वा जाडोका निम्ति तयारीजस्ता कठिन कामहरू गर्नका निम्ति कोही पनि छैनन्। एउटा बच्चा बिरामी छ, अर्कोको सातो गएको छ। यो गाउँमा सुस्केरा काढेर बसेका छोरीमान्छे मात्रै बाँकी छन्।” स्रोतका अनुसार धेरै स्थानीय पुरुषले “एक असम्भव अवस्था” महसुस गरिराखेका छन्, जहाँ चाहे वा नचाहे पनि उनीहरूलाई युद्धमा पठाइन्छ र तिनका परिवार सङ्घर्षका निम्ति विवश छाडिन्छन्।

पलायनका सात वर्ष

बीबीसीले खोतलेको अर्को मुद्दा एकजना दोषी ठहर्‍याइएका सैनिकको हो। सन् २०२३ को ज्यानुअरीमा रुस–मङ्गोलिया सीमास्थित गाउँका रोमन येभ्दोकिमोभलाई आफ्नो कामबाट भागेको अभियोगमा सात वर्षको जेल सजाय सुनाइयो। पहिले दुईपटक चोरीको आरोप लागेका यी चौँतीस वर्षीयलाई सन् २०२२ मा पुटिनको देशव्यापी परिचालनका क्रममा सेनामा छनौट गरिएको थियो।

बिदा नलिईकन अनुपस्थित हुँदै घर फर्किनुअघि येभ्दोकिमोभले केवल एक महिना सेनामा बिताए। सैन्य अधिकारीहरूले समातेर जेल पठाउनुअघि उनी जङ्गलमा तथा परिवारका सदस्यहरूको सहयोगमा आफ्नी सासूको घरमा लुकेर बसेका थिए।

तर एकजना दोषीका रूपमा उनले जेल सजायको साटो युक्रेनमा लड्न जाने मौका पाए। येभ्दोकिमोभ छ महिना अग्रमोर्चामा बसेर ‘स्टोर्म ट्रूपर’का रूपमा लडे र त्यतिखेर फेरिएको नियमअनुसार सन् २०२४ को एप्रिलमा मुक्त भई पुन: घर फर्किए।

उनका परिवारजनले बताएअनुसार अडाइँको अग्रमोर्चामा बसेर लडेका कारण उनलाई मानसिक आघात पर्‍यो र उनी पूर्ववत् जीवनमा फर्किन सकेनन्। उनी अहिले धेरैजसो समय त्यही जङ्गलमा बिताउने गर्छन् जहाँ उनी सैन्य प्रहरीबाट लुक्ने गर्थे।

सन् २०२३ मा जेलबाटै ‘स्टोर्म ट्रूपर’ का रूपमा भूमिका निभाएका कारण उनलाई पलायनका निम्ति दिइएको सात वर्षको जेल सजायबाट उन्मुक्ति दिइयो, तर उनले सेनामा रहेर लडेको र कार्यरत अवस्थामा घाइते भएको पुष्टि गर्ने कुनै कागजात छैनन्।

जेलबाटै भर्ती भएर लडाइँ लडेका कैयौँले आफ्नो हैसियतको मान्यताका निम्ति रुसी रक्षा मन्त्रालयलाई अदालतसम्म तान्न खोजेका छन्। “म उनलाई भेट्न जाँदा हल्का पिएका उनले “भाडाको सैनिक बन्न नाम लेखाऊँ कि क्या हो? भने,” उनकी दिदीले बीबीसीसँग भनिन्।

“म उनलाई जान दिन्नँ। ऊ पनि मलाई छाडेर जान डराउँछ किनकि म उसको कति चिन्ता गर्छु भन्ने उसलाई थाहा छ। तर ऊ आफ्ना मित्रहरूका निम्ति त्यहाँ जान चाहन्छ किनकि तीमध्ये केही मर्दै छन् र ऊ तिनीहरूको चिन्ता गर्छ। ऊ लडाइँमा सामेल हुनुको पीडा भोगिरहेको छ।”

यी विषयहरू अदालतमा आइरहेका मुद्दाका सानो हिस्सामात्रै हुन्। आधिकारिक विवरणहरूका अनुसार सन् २०२४ मा प्रतिमहिना त्यस्तै ८०० जति सैनिक बिनाअनुमति अनुपस्थित भएका वा भागेका र निर्देशन पालना नगरेको विषयमा दोषी ठहरिएका छन्।

मिडियाजोनाका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हो भने युद्धपूर्वको समयको तुलनामा दश गुणाले अधिक हो।

भगौडा सैनिकलाई सघाएको आरोपमा दोषी ठहर्‍याइएकाहरूको कुनै आधिकारिक तथ्याङ्क छैन।