प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास
- ०६ मंसिर २०८१
- १ मिनेटको पढाई
चीन (बेइजिङ) । नेपाल र चीनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन।
चीनको राजधानी बेइजिङमा आयोजित औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले) का नेताहरुले सो विश्वास व्यक्त गरेका हुन । बेइजिङमा सम्पन्न दुईपक्षीय भेटवार्तामा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने बताए।
उक्त भ्रमणमा नेपाल र चीनविच भएका पुराना सम्झौताहरुको कार्यान्वयनका लागि ठोस योजना बन्ने र आपसी सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ समझदारी हुने उनले विश्वास व्यक्त गरे ।
चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख मन्त्री लिउ चियानछाओले नेपालका प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनिया र नेपाली जनताले ठुलो अपेक्षा गरेको बताउँदै दुई देश र पार्टीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे छलफल हुने अपेक्षा गरे।
त्यसअघि विदेश विभागका उपमन्त्री सन हाईयानले दुई देशहरु एकअर्काका अनुभवबाट सिक्दै, सहयोग गर्दै अघि बढ्ने बताए। विभागका डाइरेक्टर जनरल फङ सिउपिनले प्रधानमन्त्री ओलीको भ्रमणअघि आएको नेपाली टोलीका कारण भ्रमणलाई सफल पार्न र तयारीबारे छलफल गर्न सहज भएको बताए।
एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको उच्चस्तरीय टोली अहिले चीन भ्रमणमा छ । यसअघि नेपाली टोली र चिनिया कम्युनिष्ट पार्टी स्कूल विभागविच अन्तरक्रिया भएको थियो । नेपाली टोली चीनका विभिन्न स्थानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको छ ।