७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

बेलायती मिसाइल युक्रेन द्धारा रुसमा प्रहार

बेलायती मिसाइल युक्रेन द्धारा रुसमा प्रहार

न्युयोर्क । बेलायतले दिएको लामो दूरीको मिसाइल स्ट्रम स्याडो मिसाइल युक्रेनले पहिलो पटक रुसी भूमिमा प्रहार गरेको छ ।

अमेरिकाले दिएको मिसाइल प्रहार गरेको दोस्रो दिनमै बुधबार युक्रेनले बेलायतले दिएको मिसाइल बाट पनि रुसमा आक्रमण गरेको हो । रुसी युद्ध संवाद दाताले टेलिग्राममा पोष्ट गरेको भिडियो अनुसार युक्रेनको सीमामा रहेको कुस्र्क क्षेत्रमा मिसाइल प्रहार भएको थियो ।

आवासीय क्षेत्रमा मिसाइल प्रहार गरे पनि क्षतिको विवरण प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाले आफूले दिएको लामो दूरीको मिसाइल रुसी भागमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएपछि बेलायतले पनि अनुमति दिएको हो ।

रुसले युक्रेनमा आक्रमण थालेको एक हजार दिनमा मंगलबार युक्रेनले ६ वटा अमेरिकी मिसाइल रुसमा प्रहार गरेको थियो ।  पाँच वटा मिसाइल रुसले आकासमै ध्वस्त बनाएको थियो । यसैबीच, रुसले युक्रेनको राजधानी किभमा ठूलो आक्रमण गर्ने भन्दै बन्द भएका विभिन्न देशका दूतावास अहिले खुलेका छन् ।

रुसले किभमा निकै ठूलो र खतरनाक आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका, स्पेन, इटली लगायका देशले बुधबार दुतावास बन्द गरेका थिए । युक्रेनभर रुसी आक्रमणको हल्ला फैलिए पछि धेरै जसो मानिस बंकरमा लुक्न गएका थिए । सरकारी र निजी कार्यालय बन्द भएका थिए ।

युक्रेन सरकारले भने रुसले आक्रमणको भ्रमपूर्ण सन्देश फैलाएर मनोवैज्ञानिक आतङ्क मच्याएको बताएको छ ।