१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

म्याट गेट्जबारे पार्टीभित्रै आलोचना भएपछि ट्रम्पले चुने नयाँ महान्यायाधीवक्ता

म्याट गेट्जबारे पार्टीभित्रै आलोचना भएपछि ट्रम्पले चुने नयाँ महान्यायाधीवक्ता

न्युयोर्क- अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता मनोनीत गरेका फ्लोरिडा कंग्रेसका सदस्य म्याट गेट्जले आफ्नो नाम फिर्ता लिएका छन्। गेट्जलाई महान्यायाधीवक्ता मनोनीत गर्ने ट्रम्पको निर्णयमा रिपब्लिकन पार्टीभित्रै विरोध भएपछि ८ दिनपछि उनले आफ्नो नाम फिर्ता लिएका हुन्।

विवादित व्यक्तिलाई महान्यायाधीवक्ता बनाउन लागेको भन्दै पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो। गेट्जमाथि १७ वर्षीय नाबालिकासँग यौन सम्बन्ध राखेको आरोप छ। यसबारेमा छानबिनसमेत भइरहेको बिबिसीले जनाएको छ।

आफ्नो नाम फिर्ता लिनुअघि गेट्जले रिपब्लिकन सिनेटरहरूसँग पनि छलफल गरेका थिए। यद्यपि ट्रम्पकै आग्रहमा गेट्जले आफ्नो नाम फिर्ता लिएको बताइएको छ। महान्यायाधीवक्ता मनोनीत भएपछि गेट्जले फ्लोरिडा कंग्रेस सदस्यबाट राजीनामा दिइसकेका छन्। गेट्जले नाम फिर्ता लिएपछि ट्रम्पले फ्लोरिडाकै पूर्व न्यायाधीवक्ता पाम बोन्डीलाई नयाँ महान्यायाधीवक्ता मनोनीत गरेका छन्।

उनलाई महान्यायाधीवक्ता मनोनीत गरेकोबारे ट्रम्फले सामाजिक सञ्जाल ट्रुथ सोसलबाट जानकारी समेत दिएका छन्। ‘पाम बोन्डी महान्यायाधीवक्ता मनोनीत भएको घोषणा गर्दा खुशी लागेको छ। उनी पछिल्लो २० वर्षदेखि एक अधिवक्ता र हिंसात्मक अपराधीहरूविरूद्ध धेरै कठोर हुनुहुन्छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।

ट्रम्पले आगामी जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। त्यसअघि उनले आफ्नो प्रशासनमा रहनेहरुको नाम घोषणा गरिरहेका छन्। उनले विवादित व्यक्तिहरूलाई आफ्नो प्रशासनमा राखेको भनेर अमेरिकी मिडियाहरूले आलोचना पनि गरिरहेका छन्। ट्रम्पले मनोनीत गरेका व्यक्तिहरू सम्बन्धित पदमा नियुक्त हुन सिनेटबाट पारित हुनुपर्छ। त्यहाँ रिपब्लिकनकै बहुमत छ।