८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

न्युयोर्क- बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोष्ट मोर्टम गरेन ।

तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास विरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर उनको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उनको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी) को समस्या देखिएको रहेछ । अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।”

“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उनी जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने। रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो ।

अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन् ।