१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा फेरि कृष्ण मल्ल निर्वाचित

नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा फेरि कृष्ण मल्ल निर्वाचित

काठमाडौं– नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल नै दोहोरिएका छन् । सोसाइटीको १२औं साधारणसभाले मल्ललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान तथा तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन् । यस्तै महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल, कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बिशुराल तथा सदस्यहरूमा सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा पुनःनिवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भई लागि पर्ने र नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरे ।

काभ्रेको बल्थलीस्थित थुम्की रिसोर्टमा भएको साधारणसभा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साधारणसभामा अभिनेत्री बसुन्धरा भुसाल, गायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, अभिनेत्री करिश्मा मानन्धरलगायत उपस्थित रहेका थिए । सोसाइटको अमेरिका र बेलायतमा समेत शाखा रहेका छन् ।

सम्बन्धित खबर