टेक्ससको ड्यालसमा १ सय १० जनाले गरे रक्तदान
- १० मंसिर २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- टेक्ससको ड्यालसमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० जनाले रक्तदान गरेका छन् ।
अमेरिकाको टेक्ससमा सक्रिय प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाज, लुम्बिनी सेवा समाज अमेरिका र लायन्स डिस्ट्रिकले ड्यालसको युलेश र अर्भिङमा पहिलोपटक सामुदायिक रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।
ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको मञ्चका वरिष्ठ उपाध्यक्ष शिव काफ्लेले जानकारी दिए ।
प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाजद्वारा ठमेल बियर गार्डेनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४०, लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नेपाली पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ र लायन्स क्लबहरुले अर्भिङमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएका छन् ।
रक्तदान कार्यक्रमका लागि कार्टर ब्लड केयरले प्राविधिक सहयोग उपलब्ध गराउनाका साथै सबै रक्तदातालाई न्यानो कम्बल तथा आयोजक संस्थाहरुले रक्तदातालाई प्रमाणपत्र उपलब्ध गराएका थिए । बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासमा सक्रिय नेपाली समुदायका संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।