‘मिस हेरिटेज पेटिट युनिभर्स २०२४’ को उपाधि नेपालकी मनिषालाई
- १० मंसिर २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क : ‘मिस हेरिटेज पेटिट युनिभर्स २०२४’ को शीर्ष उपाधि नेपालकी मनिषा राजवंशीले हात पारेकी छिन्। हालै थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा ४४ देशका प्रतिस्पर्धी रहेका थिए।
उक्त प्रतियोगिताको उपाधि हात पार्ने झापा बाह्रदशी ६ की मनिषा राजवंशीले समाजशास्त्रमा एमए गरेकी छन्। उनी शिक्षिका पनि हुन्। उनले हाल राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहेकी छिन्।
आफ्नो समुदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको बताउँछिन् । उनले २०१८ मा मिस राजवंशी (दोस्रो रनर अप), २०१९ मा मिस ग्रेस काठमाडौँ (दोस्रो रनर अप), सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको विनर भएकी थिइन्।
‘म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइनँ’, मनिषा भन्छिन्, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’
प्रतियोगिताहरूमा भाग लिँदा आफूलाई निकै नै ग्रुम गर्न सकिएको अनुभव उनले सुनाइन्। फोटोजेनिक फेस भएकी उनका आँखा निकै सुन्दर देखिन्छन् । तस्बिरमा आकर्षक र बोल्ड देखिने उनी मोडलिङका लागि सम्भावना भएकी युवती हुन् ।
प्रतियोगिता बैंककमा नोभेम्बर ९ देखि १६ सम्म चलेको थियो। ४३ देशका सहभागीहरुलाई नेपालका प्रमिला क्षेत्री नेशनल डाइरेक्टर रहेको संस्था प्रोमोटिङ सलुशनबाट थाईल्यन्डमा लगिएको हो। उक्त टिमलाई नेतृत्व भने इभेन्ट निर्देशक रमेश शाहीले गरेका थिए। मनिशा राजवंशीसहित प्रतियोगिताका अन्य विधामा भाग लिनका लागि नेपालबाट प्रशंसा बुढाथोकी, वसन्त लामिछाने , सुश्मिता श्रेष्ठ र अलिशा लोले थाईल्याण्ड पुगेका थिए। अन्य विधामा पनि नेपालले धेरै उपाधि हात पार्न सफल भएको नेपालका इभेन्ट निर्देशक रमेश शाहीले बताए।