अमेरिकामा फिप्नाद्वारा नेपाली समुदायका मानिसलाई ‘मेन्टल हेल्थ फर्स्ट एड’ प्रशिक्षण
- १२ मंसिर २०८१
- २ मिनेटको पढाई
न्यूयोर्क : नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)ले अमेरिकामा रहेका नेपाली समुदायका मानिसहरुको लागि मेन्टल हेल्थ फर्स्ट एड प्रशिक्षण कार्यक्रम गरेको छ।
नेशनल काउन्सिल फर बिहेभियरल हेल्थसँग मिलेर फिप्नाले अमरिकामा रहेका लगभग दुई दर्जन मानिसलाई प्रशिक्षण दिएको हो।
मानसिक समस्याका बारेमा बुझ्न र समस्या भएका व्यक्तिको प्राथमिक उपचार गर्न सक्ने प्रशिक्षक तयार भएको सञ्चालकले बताएका छन्। नोभेम्बर २३ मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलेको उक्त प्रशिक्षणमा ‘इफ यु ह्याभ ब्रेन, यु ह्याव मेन्टल हेल्थ’ स्लोगन राखिएको थियो।
उक्त कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अमेरिका (एनआरएनए) का अध्यक्ष सूर्य लम्सालको पनि उपस्थिति रहेको थियो। उनले प्रशिक्षणपछि मानसिक स्वास्थ्यको बारेमा बोल्दै भने, ‘मेन्टल हेल्थ फर्स्ट एड प्रशिक्षण कार्यक्रम धेरै महत्वपूर्ण छ। मेरो सिस्टरको मृत्युपछि उनका श्रीमान, जो मेरो असल मित्र पनि हुनुहुन्थ्यो, साह्रै विक्षिप्त हुनुभयो। उहाँले पछि आत्महत्या गर्नुभयो। आजको प्रशिक्षणपछि मैले सुसाइडल सिम्टम्सबारे थाह पाएँ। उहाँले त्यतिबेला पर्याप्त सुसाइडल सिम्टम्स देखाउनु भएको थियो। मैले त्यतिबेला ती सिम्टम्स पहिचान गर्न नसक्दा एउटा असल मित्र गुमाउनु पर्यो।’
उक्त प्रशिक्षणले मानिसमा भएको मानसिक समस्या र उनीहरुले देखाउने संकेतहरु पहिचान गर्न सहयोग गर्ने बताए। साथै बिरामीको रेखदेख गर्न पनि सक्षम बनाएको उनको भनाइ थियो।
कार्यक्रममा फिप्नाका अध्यक्ष तोरण गुरुङले कोभिड १९ प्याण्डेमिकपछि मानसिक स्वास्थ्यमा समस्या बढेको उल्लेख गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले नेपाली समुदायमा मानसिक रोगसँग लड्न क्षमता बढाउने बताए।
फिप्नाका महासचिव दीपक चौधरीले पनि मानसिक स्वास्थ्यको महत्तको बारेमा प्रकाश पारे।
कार्यक्रममा एनवाइसी डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिनकी कम्युनिटी प्लानिङ एण्ड इङ्गेजमेन्ट डिभिजन अफ मेन्टल हाइजिन डाइरेक्टर कर्कलिन एस्कोन्डो लगायत अन्य प्रशिक्षकहरुले मानसिक स्वास्थ्यको विषयमा प्रशिक्षण दिन पाउदा निकै उत्साहित भएको बताए। कर्कलिनले यस प्रशिक्षणले मानसिक रोग पहिचान गर्न र उपचार खोज्न सहयोग पुग्ने क्षमता विकास भएको आफ्नो विश्वास रहेको बताउँदै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिन्।
मानसिक समस्याका कारण पछिल्लो समय विश्वभर नै धेरै समस्या निम्तिरहेको छ। मानसिक स्वस्थमा समस्या भएका बिरामीको पहिचान र उपचारलाई गम्भीरतासाथ नलिनाले गम्भीर समस्या उत्पन्न हुने गरेको छ। अमेरिकामा पनि यस्ता धेरै घटना घट्ने गरेका छन्।