१९ मंसिर २०८१, बुधबार
4 December 2024, Wednesday

एफबीआईको नेतृत्व काश पटेललाई दिने ट्रम्पको घोषणा

एफबीआईको नेतृत्व काश पटेललाई दिने ट्रम्पको घोषणा

न्युयोर्क- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग एफबिआईको नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताएका छन्।

ट्रम्पले ब्यूरोका वर्तमान गतिविधिको आलोचना गर्दै आउनुभएका र तथाकथित सरकारी ‘डिप स्टेट’ को बारेमा आलोचक आफ्ना पूर्व सल्लाहकारसमेत रहेका पेन्टागनका अधिकारीलाई एफबिआई निर्देशक बनाउन लागेको उनको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन्।

एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेलाई सन् २०१७ मा १० वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो। ट्रम्पले नियुक्त गरेका रेको नेतृत्वमा एफबीआईले राष्ट्रपति निर्वाचित ट्रम्पमाथि समेत अनुसन्धान गरेको छ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “काश एक प्रतिभाशाली वकिल, अन्वेषक र ‘अमेरिका फस्र्ट’ अभियानका अभियान्ता हुनुहुन्छ। उहाँले आफ्नो सेवालाई भ्रष्टाचारको पर्दाफास गर्न, न्यायका लागि र अमेरिकी जनताको रक्षा गने कार्यमा लगानी गर्नुभएको छ।”

आगामी राष्ट्रपतिका कट्टर समर्थक पटेलले ट्रम्पलाई पर्दा पछाडिबाट दबाउने काम गर्ने कथित पक्षपाती सरकारी नोकरशाहहरूको ट्रम्प विरोधी ‘डिप स्टेट’ को रिपब्लिकन कट्टरपन्थी धारणालाई समर्थन गर्छन् र यस बिषयमा एउटा पुस्तकसमेत लेखेका छन्। भारतीय मुलका एक परिवारका सन्तान पटेलले ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार र कार्यवाहक रक्षामन्त्रीको चिफ अफ स्टाफका रुपमा काम गरेका थिए।