कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
- १८ मंसिर २०८१
- १ मिनेटको पढाई
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भेटवार्ता भएको छ । मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच भएको भेटवार्तामा शुभकामना आदानप्रदान पश्चात् द्विपक्षीय सम्बन्ध, रोजगारी, व्यापार र भ्रमण आदानप्रदान लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाली कामदारको २४ सै घण्टा बिमाको व्यवस्था, कतारमा मृत्यु वा घाइते भएका नेपाली कामदारको उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन कतार सरकारलाई अनुरोध गरे ।
‘‘कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्’’ उनले भने, ‘‘म कतारका राजदूतलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीहरूलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।’’
उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा नजिकबाट काम गर्दै र एक अर्कालाई समर्थन गर्दै आएकोमा खुसी व्यक्त गरे । उनले नेपाली नागरिक विपिन जोशी लगायत अन्य बन्धकहरूको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसा समेत गरे।
कतारका राजदूत अन्सारीले नेपाल र कतारबिचको सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवर्द्धन तथा संरक्षणको पक्षमा रहेको बताए । ‘‘कतारमा हाल चार लाख नेपाली कामदार रहेकोमा अब घरेलु कामदारलाई पनि कतार लग्ने प्रयासमा छु ।’’ उनले भने ।