२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

एलन मस्कले ट्रम्पको चुनावी अभियानलाई २५ करोड डलरभन्दा धेरै चन्दा दिएको खुल्यो

एलन मस्कले ट्रम्पको चुनावी अभियानलाई २५ करोड डलरभन्दा धेरै चन्दा दिएको खुल्यो

न्युयोर्क- संसारकै धनी व्यक्ति एलन मस्कले अमेरिकी राष्ट्रपतिको चुनावका क्रममा डोनाल्ड ट्रम्पको अभियानलाई २५ करोड डलरभन्दा धेरै चन्दा दिएको खुलेको छ । नेपालीमा यो रकम झन्डै ३४ अर्ब रुपैयाँ हुन आउँछ ।

यो रकम सन् २०१० पछि कुनै पनि दाताले कुनै पनि उम्मेदवार र दललाई दिएको चन्दामध्ये सबैभन्दा धेरै हो । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका मस्कले ट्रम्पको ह्वाइट हाउस प्रवेशमा ठूलो भूमिका खेलेका थिए ।

गैरनाफामूलक संस्था ओपनसेक्रेट्सको तथ्याङ्कअनुसार मस्कले ट्रम्पको चुनावी अभियानमा खर्चको कुनै कमी हुन दिएका थिएनन् । मस्कले शुरूमै २० करोड डलर ट्रम्पको अभियानलाई दिएका थिए । त्यसपछि पाँच करोड डलर विभिन्न घुमाउरो बाटोबाट दिएको उल्लेख छ ।

नोभेम्बरमा भएको चुनाव जितेपछि एलन मस्क ट्रम्पका सबैभन्दा नजिकका सहयोगी बनेका छन। उनीहरूबीच निकै लामो समयको साझेदारी हुने सम्भावना छ । ट्रम्प टेक्सासमा स्पेसएक्स कम्पनीले गरेकाे रकेट प्रक्षेपण हेर्नका लागि पनि पुगेका थिए।

ट्रम्पले एलन मस्कलाई सरकारी दक्षता विभागको प्रमुखको रूपमा चयन गरेका छन । जसको उद्देश्य सङ्घीय खर्चमा अर्बाै डलर कटौती गर्नुरहेको छ ।