भारतीय चर्चित क्रिकेटर शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने
- २२ मंसिर २०८१
- १ मिनेटको पढाई
काठमाडौं – कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन् ।
कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किनेछन् । कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेका छन् ।
‘उहाँको ११ तारिखपछि अर्को टुर्नामेन्ट रहेछ । उहाँ मार्की प्लेयर हुनुहुँदो रहेछ । हाम्रो गेम भोलि या पर्सि भएको भए उहाँ खेल्नुहुन्थ्यो, तर १० तारिखमा त उहाँ जानुपर्ने भएकाले आगामी खेल खेल्नुहुन्न’, उनले भने ।
शिखरको ठाउँ अर्को खेलाडी लिने वा नलिने भन्ने विषयमा प्रशिक्षकले निर्णय लिने घिमिरेले बताए । एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए । उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए ।
४ खेल खेलेको कर्णालीले २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ ।