न्युयोर्क- सांस्कृतिक संगीत (Cultural music) मानव सभ्यताको प्रारम्भिक कालदेखि नै उत्पन्न भएको एक महत्वपूर्ण अभिव्यक्ति हो। सरल भाषामा सांस्कृतिक संगीत भन्नाले हाम्रो परम्परा र संस्कारसँग जोडिएको संगीत भन्ने बुझिन्छ। हाम्रो परम्परा र संस्कार जति पुरानो छ त्यति नै पुरानो संगीत रहेको छ। यसले कुनै विशेष जाति, समुदाय, क्षेत्र वा राष्ट्रको सांस्कृतिक पहिचान र परम्परालाई अभिव्यक्त गर्ने संगीतलाई जनाउँछ। यो संगीत प्रायः त्यो समुदायको ऐतिहासिक, सामाजिक, धार्मिक, र सांस्कृतिक मूल्य र विश्वासहरूको अंश हुन्छ। सांस्कृतिक संगीतलाई परम्परागत संगीत पनि भनिन्छ, किनकि यसले विशेष रूपमा परम्परा, रीतिरिवाज, र संस्कृतिको संरक्षण र अभिव्यक्तिमा महत्त्वपूर्ण भूमिका खेल्दछ।
हाम्रो नेपालमा विभिन्न भूभाग जस्तै तराई, पहाड र हिमालमा विभिन्न जातजातिको बाहुल्यता रही आएको छ उदाहरणको लागि हिमालमा शेर्पा, तमांग, र गुरुङजस्ता जातिहरू समावेश छन्। पहाडमा बाहुन, क्षत्री, तामाङ्ग, नेवार, राई, लिम्बू र तराईमा मैनापोखरा, मधेसी, थारु र अन्य समुदायका मानिसहरू समावेश छन्। तिनै जातजाति अनुसार उनीहरूको आफ्नै मौलिक लोक गीतसंगीत र बध्यवादन रहेका छन्। यिनै मौलिक संगीत नै हाम्रा साँस्कृतिक संगीत हुन्।
जति नै आधुनिकतामा रमाए पनि जति नै पश्चात्य संगीतमा झुमे पनि एक छेउमा आएर नेपालीको मन भने तिनै दोहोरीका भाका भनौ या आ-आफ्ना भाषामा बनेका गीतहरूमा नै रम्ने गर्छ। यो नै एउटा मौलिक संगीतको महत्त्व पनि हो। नेपालका ग्रामीण क्षेत्रमा प्राय जसो लोक गीत संगीतको भाकामा रम्नेहरू धेरै छन्। शहरी क्षेत्र र विदेशिएका नेपालीहरू पनि लोक संगीत नै मन पराउँछन्। पप र आधुनिक गीत सुनेता पनि विशेष समारोह र चाड बाडमा भने संस्कृति नै झल्किने संगीतको बेजोड महत्व छ। नेपालीको महान चाड दशैँ , तिहार, छट, तीज, ल्होसार, धान रोपाई जस्ता विभिन्न पर्वहरूमा सांस्कृतिक तथा परम्परागत गीतहरू सुन्ने र बजाउने गरिन्छ।
– संगीतका प्रकारहरू
प्रत्येक प्रकारको संगीतले एक विशेष समुदाय, परम्परा र ऐतिहासिक पृष्ठभूमिको प्रतिनिधित्व गर्दछ। सांस्कृतिक संगीतका विभिन्न प्रकारहरू छन्। त्यसमध्ये केही प्रकारहरू यहाँ उल्लेख छन्:
१. लोक संगीत
समाजमा प्रचलित, भूभाग अनुसारका भाषाभाषी, जातजातिहरूले रचेका स्थानीय मौलिक रचनामा आधारित रहेर गाउने र बजाउने संगीत लोक संगीत कहलिन्छ। देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागि पनि हाम्रो मौलिक लोक भाकाका गीतसँगै मौलिक भेषभुषा पहिरिएर नृत्यहरू प्रस्तुत गरिन्छ। यसर्थ यसले देशको प्रतिनिधित्व गरेको हुन्छ। लोक संगीतले नै संगीतको धरोहर बचाएको हुने हुँदा यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।
२. आधुनिक संगीत
कुनै पनि देशको संस्कृतिलाई विश्वको प्रचालित देशको संस्कृतिले प्रभाव पारेको देखिन्छ । यस्तो प्रभाव संगीतमा पनि पर्दछ। यही प्रभावमा आधुनिक गीतको सुरुवात भएको देखिन्छ । पश्चात्य संगीतको प्रभाव लोक संगीतमा प्रत्यक्ष पर्ने हुँदा आधुनिक संगीतको उत्पति भएको हो जुन सुन्नमा मिठो लागेता पनि समयको लहरसँगै यो परिवर्तित हुन सक्छ । एक समय सिमाभित्र एउटा गीत प्रचलित छ भने त्यही गीत अर्को गीतको उत्पति संगै हराउने पनि हुन्छ। यसमा पप, रक, हिप हप, जैज आदि संगीतका प्रभावहरू पाइन्छ।
• पप संगीत: युवापुस्ताको बीचमा लोकप्रिय।
• रक संगीत: पश्चिमी शैलीका संगीतहरू।
• नेपाली फिल्म संगीत: चलचित्रहरूमा गाइने गीतहरू जुन प्रायः प्रेम, भावना र सामाजिक सन्देश समेटेर बनाइन्छ।
यसर्थ आधुनिक संगीतलाई परिवर्तनको नाम पनि दिइएको छ।
३. शास्त्रीय संगीत
शास्त्रमा आधारित समृद्ध र गहिरो संगीत शैली नै शास्त्रीय संगीत भन्ने बुझिन्छ। जसमा राग, ताल र संगीत सिद्धान्तको गहिरो ज्ञान समावेश छ। यो उच्च कोटीको संगीतमा पर्दछ। यस संगीतका पारखीहरू बौद्धिक हुन्छन् जसले शास्त्रको ज्ञान राखेका हुन्छन् भने आम मानिसको लागि यो अरुचिपूर्ण हुनसक्दछ। शास्त्रीय संगीत, संगीतको एक महत्वपूर्ण र आभिन्न अंग हो। जसलाई बुज्न गहिरो अध्ययन र धैर्यपूर्ण चरित्रको आवश्यकता पर्दछ।
४. धार्मिक संगीत
धार्मिक संगीतले प्रायः भगवान र देवी-देवताका भजन, कीर्तन, आरती आदि समावेश गर्दछ। नेपालमा हिन्दू र बौद्ध धार्मिक संगीत विशेष रूपमा प्रचलित छन्।
•भजन : भजन एक धार्मिक गीत हो जुन प्रायः भगवान वा देवी-देवताको स्मरण गर्न गाइन्छ। नेपाली भजनमा नेपाली भाषा, संस्कृति र संगीतको विशेषतालाई झल्काउने प्रयास गरिन्छ।
•कीर्तन: भगवानको स्तुति गर्दै गाइने भक्ति संगीत।
•आरती: मन्दिर वा घरमा पूजा बेला गाइने धार्मिक गीतहरू।
सांस्कृतिक संगीत समाजको आन्तरिक जीवन र पहिचानलाई व्यक्त गर्ने माध्यम हो साथै यो समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने मध्यस्तकर्ता पनि हो। यसले पुराना परम्पराहरूसँग जोड्दै नयाँ पुस्तालाई सृजनात्मकताको ज्ञान दिंदै विकासको मार्ग खोल्छ।
-साँस्कृतिक संगीतको महत्व
साँस्कृतिक संगीतले समाजका विविध पक्षहरूमा महत्वपूर्ण भूमिका खेल्दछ। यसको महत्व गहिरो र व्यापक रहेको छ |
-सामाजिक पहिचान र एकता
समाजमा ऐक्यबद्धता कायम गर्न संगीत एक उच्च प्रथमिकतामा पर्ने प्रभावशाली माध्यम हो। विभिन्न जातीय पृष्ठभूमि र भौगोलिक बनावटबाट आएका भए पनि सांस्कृतिक संगीतले सामुहिक भावसहितको एकता कायम गर्नमा मानिसलाई संस्कार सिकाउनमा ठूलो मद्धत गर्दछ। मानिस जति नै परिवर्तनशील भए पनि आफ्नो जरालाई बिर्सिन नहुने गुण सिकाउनमा पनि संस्कृतिक संगीतको भुमिका रहेको छ।
-संस्कार र परम्पराको ज्ञान
समाज र पुर्खाको संस्कार थाम्ने धरोहर भनेकै साँस्कृतिक महत्वका विषयहरू हुन्। चाहे त्यो बाद्यबादन होस् वा नृत्य या संगीत होस् कुनै पनि देशको संगीत र नृत्य इतिहास जति नै पुरानो हुन्छ, त्यही इतिहास र परम्परा नयाँ पिढीमा हस्तान्तरण हुने हुँदा सांस्कृतिक संगीतको संरक्षण र जगेर्नाको साथै ज्ञान पनि बढ्न जान्छ।
-धार्मिक र आध्यात्मिक महत्व
धर्म विशेष कार्यक्रमहरूमा सांस्कृतिक संगीतले ठूलो महत्व राख्दछ। विभिन्न धर्महरूको पूजा र अनुष्ठानमा संगीतले भक्तिपूर्ण वातावरण सिर्जना गर्दछ। जसको माध्यमबाट मानिसहरू आध्यात्मिक शान्ति र आशाको साथै जीवनको उतार चाडवलाई सहस्र स्वीकार गर्ने हिम्मत प्राप्त गर्न सक्दछन्।
सरस्वती खत्री, गायीका