८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

जेलेन्स्की पुटिनसँग ‘डील’ गर्न तयार छन्- ट्रम्प

जेलेन्स्की पुटिनसँग ‘डील’ गर्न तयार छन्- ट्रम्प

न्युयोर्क- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की रुससँग ‘डील’ गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आयोजना गरेको त्रिपक्षीय वार्ता सकिएपछि ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न तयार भएको भन्दै सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ।

शनिबार पेरिसस्थित एलिसी दरबारमा जेलेन्स्की, ट्रम्प र म्याक्रोनबीच भेटवार्ता भएको थियो । रूससँग लडिरहेको युक्रेनमा अमेरिकी नवनिर्वाचित राष्ट्रपतिले लिने सम्भावित कदमबारे राजधानी किभमा चिन्ता बढेको छ ।​

ट्रम्पले लेखेका छन्, ‘जेलेन्स्की एउटा सम्झौता गर्न चाहन्छन् र युद्ध नामको यो पागलपन अन्त्य गर्न चाहन्छन् । रुस-युक्रेनबीच तुरुन्त युद्धविराम हुनुपर्छ र वार्ता शुरू गर्नुपर्छ । यस युद्धका कारण अनावश्यक रूपमा धेरै मानिसहरूको जीवन गुमेको छ ।’

उनले शान्तिवार्ताका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै युद्धले अनियन्त्रित रूप लिएर ठूलो विपत्ति निम्त्याउन सक्ने चेतावनी दिए ।

तर ट्रम्पको भनाइलाई खण्डित हुने गरी आफ्नो कार्यकालको अन्तिम समयमा रहेका राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनका लागि लगभग १ अर्ब डलरको नयाँ सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

यो प्याकेजअन्तर्गत रुसको भित्री भागमा मार हान्न सक्ने रकेट प्रणालीका लागि गोलाबारुद, ड्रोन, सैन्य पार्टपुर्जा र ट्याङ्क तथा बख्तरबन्द सवारी साधनका लागि विभिन्न उपकरण युक्रेनलाई उपलब्ध गराइने बाइडेन प्रशासनले जनाएको छ ।

फ्रान्समा भएको वार्तामा जेलेन्स्कीले ट्रम्पलाई युक्रेनको सुरक्षाको महत्त्वबारे स्पष्ट पार्न खोजेका थिए । फ्रान्सको प्रभावशाली सञ्चारमाध्यम फ्रान्स२४ ले जेलेन्स्कीको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘हामी सबैलाई शान्ति चाहिएको छ । तर यो शान्ति हामी सबैका लागि न्यायसंगत हुनुपर्छ ।’

उनले शान्तिका लागि बलियो सुरक्षाको ग्यारेन्टी चाहिने र कुनै पनि सम्झौता युक्रेनका लागि ‘न्यायपूर्ण’ हुनुपर्ने बताए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले जेलेन्स्कीसँग प्रत्यक्ष रूपमा पहिलोपटक भेटवार्ता गरेका हुन् । दुवैले यस वार्तालाई सकारात्मक भएको बताएका छन्।​

जेलेन्स्कीले ट्रम्पलाई युक्रेनप्रति देखाएको समर्थनका लागि धन्यवाद दिए भने ट्रम्पले शान्ति प्रक्रिया अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।