काठमाडौँ । विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको अवस्थामा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमै निधन भएर बन्द बाकसमा फर्कने गरेका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ४७७ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या चार महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषको १८ करोड १५ लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् ।
पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो । तथ्याङ्क अनुसार दैनिक औसतमा चार वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।
बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा यसअघि सात लाख रुपियाँ आर्थिक सहायता दिँदै आएकोमा हाल वृद्धि गरेर १० लाख पुर्याएको छ । यसै गरी यो अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका १७४ श्रमिकले पाँच करोड ६३ लाख रुपियाँ आर्थिक सहायता पाएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको कात्तिकसम्म १३ हजार ८२३ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गुमाएका छन् ।
चालु आवको चार महिनामा दुई लाख ४२ हजार ५८३ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूले पठाएको विप्रेषण करिब छ खर्ब विप्रेषण भित्रिएको हिसाब भइरहेको छ ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले स्थानीय तह र विदेशस्थित नेपाली दूतावास वैदेशिक रोजगारीका क्रममा हुने घाइते वा अङ्गभङ्ग भएकाले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको सङ्ख्या पछिल्लो पटक बढेको बताए।
मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता लिनेको सङ्ख्या वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक उप्रेतीले भनाइ छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत गरेसँगै सेवाग्राही सङ्ख्या बढेर सहयोग रकम पनि बढेको छ ।
रोजगारीका लागि विदेश जाने १८ देखि ४५ वर्ष उमेर समूहको मृत्युदरलाई आधार मानेर नेपालमा सोही उमेर समूहका युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययन भएको छैन । नेपालमा रहँदा सो उमेर समूहमा हुने मृत्यु र विदेशमा हुने मृत्युको अध्ययन हुन सके विदेशमा हुने मृत्युको कारण र स्वास्थ्य परीक्षण मापदण्डका सम्बन्धमा जानकारी हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् । श्रम तथा आप्रवासनका विज्ञ रामेश्वर नेपालले हाल विदेशमा मृत्यु भएका श्रमिकको तथ्याङ्क स्वाभाविक नभएको बताए।
बोर्डको आवको २०८०/८१ को प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४१ महिलासहित एक हजार ३४६ नेपाली श्रमिकको मृत्यु भएको थियो । विगत तीन वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गएको बोर्डले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि भएको छ ।
वैदेशिक रोजगारीका क्रममा अधिकांश मुत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना, सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् ।