युक्रेन संकट समाधान पहिलो प्राथमिकता : ट्रम्प
- २६ मंसिर २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । ‘मलाई लाग्छ हामीले रूससँगको युक्रेनको युद्धको समाधान खोज्नुपर्छ’, अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई शनिबार रेकर्ड गरिएको एक अन्तर्वार्तामा भने ।
‘ती दुवै देशले ठूलो संख्यामा नागरिक गुमाइरहेका छन्, जसलाई कसैले पनि विश्वास गर्न सक्दैन। लाखौं सैनिक मारिएका छन्’, ट्रम्पले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उच्च प्राथमिकताबारे सोधिएको प्रश्नको जवाफमा भने । ‘मध्यपूर्व निश्चित रूपमा एक ठूलो प्राथमिकता हो । मलाई लाग्छ, मध्यपूर्व रूससँग युक्रेनको युद्धको तुलनामा कम कठिन अवस्था हो’, ट्रम्पले भने । उनले भने, ‘तर यी दुई परिस्थितिहरू हामीले समाधान गर्नुपर्ने परिस्थितिहरू हुन् । यसका कारण धेरै मानिसहरू मरिरहेका छन् ।’
ट्रम्प सन् २०१९ मा भएको भीषण आगलागीपछि ‘नोट्रे डम क्याथेड्रल’ पुनः सञ्चालनका लागि शनिबार पेरिस आएका थिए । फ्रान्स भ्रमणका क्रममा उनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । ‘राष्ट्रपति जेलेन्स्कीसँग हाम्रो भेट भयो र भेटमा सकारात्मक कुराकानी भएको छ’, ट्रम्पले भने । जेलेन्स्कीले मङ्गलबार युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्पको दृढ सङ्कल्पप्रति आफू कृतज्ञ रहेको बताएका थिए । ट्रम्पले २४ घण्टाभित्र युक्रेनको द्वन्द्व अन्त्य गर्न सकिने बताएका थिए ।
आइतबार उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन्, ‘तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ ।’ सिरियामा लामो समयदेखि राष्ट्रपति रहेका बशर अल असदलाई विद्रोहीले सत्ताच्यूत गरेको सिरियामा हस्तक्षेप नगर्न पनि उनले वासिङ्टनलाई आग्रह गरेका छन् । ‘सिरियाले आफ्नो सुरक्षा गर्नुपर्छ’, ट्रम्पले अन्तर्वार्तामा भने। हामी सिरियामा संलग्न छैनौँ र हुने सम्भावना पनि छैन । एजेन्सी