३ पुस २०८१, बुधबार
18 December 2024, Wednesday

के कुखुराको मासुको झोल र अन्य घरेलु विधिबाट साँच्चिकै रुघासँग जुझ्न सकिन्छ?

के कुखुराको मासुको झोल र अन्य घरेलु विधिबाट साँच्चिकै रुघासँग जुझ्न सकिन्छ?

न्युयोर्क- सुन्तलाको रसदेखि जिङ्क लजेन्ज, कुखुराको मासुको झोलदेखि गार्लिक क्याप्सुलसम्मका रुघाखोकीका कैयौँ घरेलु उपचार विधिहरू छन्। तर के तिनले काम गर्ने कुनै प्रमाण छन्?

संसारभर सबैतिर सर्दी लाग्ने समस्या हुने गर्छन्। त्यस्तो अवस्था सिर्जना गराउने करिब २०० भाइरसहरू छन्। र उत्तिकै धेरै त्योसँग जुझ्ने घरेलु विधिहरू समेत पाइन्छन्। तर के ती कुनैले काम गर्छन्?

जुनसुकै घरेलु विधि पनि हाम्रो प्रतिरक्षा प्रणाली बढाउने पक्षसँग जोडिन्छ। भाइरस हाम्रो शरीरमा प्रवेश गरेपछि त्यसले हाम्रो शरीरमा दुई किसिमका रक्षा प्रणालीको सामना गर्नुपर्छ।

पहिलो, शरीरमा जन्मजात हुने प्रतिरक्षा प्रणालीले हमला गर्ने कोशिकाहरूलाई रोक्न खोज्छ। अर्को समयक्रमसँगै विकसित हुँदै आएको प्रतिरक्षा प्रणालीले यसअघि शरीरको सम्पर्कमा आइसकेका खास रोग निम्त्याउने जीवाणुहरूलाई पहिचान गर्दै रोक्न खोज्छ।

पछिल्लो प्रणालीले नयाँ किसिमका रोगजन्य जीवाणुसँग लडेपछि मेमोरी सेलको सिर्जना गर्छ – ताकि भविष्यमा त्यस्तै जीवाणुसँग भेट हुँदा सहजै जुझ्न सकियोस्।

यही कारण हो कि मानिसलाई ठेउला जीवनमा प्राय: एक पटक मात्र आउँछ। जबकि रुघाखोकीको जीवाणुचाहिँ एउटाबाट अर्कोमा सर्दै गर्दा तिनले आफ्नो स्वरूप परिवर्तन गर्छन् र हाम्रो प्रतिरक्षा प्रणालीको मेमोरी सेललाई छक्याउँछन्। त्यसैले सर्दी वा रुघा हामीलाई एक वर्षमै कैयौँ पटक लाग्न सक्छ।

हाम्रा दैनिक व्यवहार र खानपानले हाम्रा प्रतिरक्षा प्रणालीको शक्तिलाई प्रभावित पार्छन्। त्यसैले सर्दीबाट जोगाउने भनी दाबी गरिएका कैयौँ विधिहरू सोसल मिडियामा चर्चा भइरहेका हुन्छन्।कोरोनाभाइरस महामारीका बेला समेत कोभिड भाइरसबाट बचाउने भनेर तिनका चर्चा चलेका थिए। उसोभए सर्दी वा ती भाइरसबाट जोगिनका लागि कुन घरेलु विधि उपयुक्त छन्?

के लसुनजस्ता पूरक पोषण भाइरससँग जुझ्न काम लाग्छन्?

 

इम्पेरिअल कलेज लन्डनमा सङ्क्रामक रोगहरू सम्बन्धी एकाइका प्रमुख चार्ल्स बङ्हमका अनुसार भिटामिन वा अन्य खनिज तत्त्वको कमी हुँदा मात्र स्वस्थ्य व्यक्तिहरूमा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ र यदि पहिले नै हामीले उचित आहार लिने गरेका छौँ भने सर्दीसँग जुझ्न सघाउने भनिएका पूरक पोषणले थोरै मात्र फरक पार्छ।

“भिटामिन, जिङ्क वा आइरनजस्ता महत्त्वपूर्ण पोषकतत्त्वको कमी भइरहेको अवस्थामा मात्र ती अतिरिक्त पोषणहरू निकै उपयोगी हुन्छन्,” उनी भन्छन्। “तर यदि तपाईँ सन्तुलित आहार खाने गर्नुहुन्छ भने यीमध्ये कुनै पोषक तत्त्व थप्दैमा प्रतिरक्षा प्रणाली अझ प्रभावकारी बनिहाल्दैन।”

कुखुराको मासुको झोलजस्तो धेरै चल्तीको फाइदाजनक भनिने खानेकुराले साँच्चिकै केही फरक पार्छ भन्नेबारे कुनै भरपर्दो अध्ययन भएको छैन। यद्यपि रुघाखोकीलाई सन्चो पार्नेबारे गरिएका अध्ययनमा खानेकुरा भन्दा सप्लिमेन्ट भनिने पूरक पोषण तत्त्वहरू प्रभावकारी हुने पाइएका छन्।

के भिटामिन सीले सर्दी निकोपार्न सघाउँछ?

सर्दीको समस्याका बेला धेरै मानिसहरूले प्रयोग गर्ने अर्को सप्लिमेन्ट भनेको भिटामिन सी पनि हो।

सन् २०२३ मा विभिन्न तथ्यहरूको समीक्षाका क्रममा भिटामिन सीले रुघाखोकीका मध्यम खाले लक्षण उल्लेख्य रूपमा कम गराउन सक्ने देखाएको थियो। जसमा नाकबाट पानी बग्ने, खकार र घाँटी दुख्ने समस्या करिब १५ प्रतिशत जतिले कम हुने पाइएको थियो।

उनीहरूले रुघाखोकीको निकै गम्भीर लक्षणसँग जुझ्नका लागि भिटामिन सी सप्लिमेन्ट निकै प्रभावकारी हुने निष्कर्ष निकालेका थिए। भिटामिन सीबारे भएको अर्को एउटा अध्ययनले सप्लिमेन्टहरू कम हानिकारक हुने हुँदा त्यो फाइदाजनक भइहाल्छ कि भनेर समेत प्रयोग गर्नु हितकर हुने जनायो।

सुन्तलाको रस भने कम फाइदाजनक हुनसक्छ। सर्दी कम गर्नका लागि, लक्षण हटाउन वा त्यसको समयावधि कम गर्न त्यो प्रभावकारी छ भन्नेबारे कुनै ठोस प्रमाण भेटिएको छैन।

के जिङ्कले सर्दीमा काम गर्छ?

जिङ्क एसिटेटको चुसेर खाने लजेन्जेजको प्रभावकारिता जाँच गरिएको एक समीक्षामा रुघाखोकीका बेला ८०-९२ एमजीको लजेन्ज दैनिक लिँदा त्यसले नाक बग्ने र नाक बन्द रहने अवधि झन्डै एक तिहाइले घटाएको पाइयो।

त्यसका साथै हाछ्युँलाई करिब २२ प्रतिशतले र खोकीलाई झण्डै आधाले घटाएको पाइयो। उक्त अध्ययनको निष्कर्ष अनुसार पहिलो लक्षण देखा परेको २४ घण्टाभित्र ८० एमजीको जिङ्क एसिटेट लजेन्ज दैनिक लिँदा रुघाखोकीको उपचारमा सघाउ पुग्न सक्छ। त्यसअघि गरिएका प्रयोगहरूमा समेत जिङ्क सप्लिमेन्ट लिनेहरूका रुघाखोकीका लक्षणमा केही सुधार भएको पाइएको थियो।

प्राय: वैज्ञानिकहरू भिटामिन र अन्य खनिज तत्त्वहरू सप्लिमेन्ट वा पूरक पोषणबाट लिनुभन्दा नियमित खानेकुराबाटै लिनु उत्तम हुने बताउँछन्। तर सप्लिमेन्टका रूपमा लिँदा उच्च मात्रामा ती तत्त्व प्राप्त हुने उनीहरू बताउँछन्।

जिङ्कका हकमा भने त्यो ठ्याक्कै उल्टो छ। युनिभर्सिटी अफ हेल्सिङ्कीका जनस्वास्थ्य अनुसन्धानकर्ता हारी हेमिलाका अनुसार सर्दीका बेला प्रभावकारी हुनका लागि जिङ्क सामान्य ट्याब्लेट वा जिङ्क धेरै हुने खानेकुराबाट नभईकन लजेन्जेजबाट आउनुपर्छ। उनी भन्छन्: “जिङ्कका लजेन्जेज घाँटी वरपर बिस्तारै सोसिन्छ र त्यहाँ जिङ्कको प्रभाव देखिन्छ।”

“खास जैविक-रासायनिक प्रक्रियाबारे हामी अनभिज्ञ छौँ तर प्रभावकारी पाइएका अध्ययनमा जिङ्कको ठूलो आकारका लजेन्जेज प्रयोग गरिएका थिए जुन मुखमा पूरै पग्लन आधा घण्टासम्म लागेका थिए।”

प्लासिबो इफेक्ट्स र रुघाखोकी

अझैपनि एउटा जटिलता कस्तो छ भने अनुसन्धानकर्ताहरूले पूरक पोषण सुरु गर्नुअघि मानिसहरूमा भिटामिन सी वा जिङ्क जस्ता चीजको कमी थियो कि थिएन भनेर हेरिरहेका छैनन्।

अर्थात् फाइदा पुगेका मानिसहरूमा सायद ती तत्त्वको पहिलेदेखि नै कमी थियो र पूरक पोषण लिँदा त्यसले फाइदा दिएको होला – न कि स्वस्थ्य व्यक्तिलाई केवल पूरक पोषणमात्रले फाइदा पुगेको होला। त्यसो भए कुनै पनि सर्दीसँग जुझ्ने प्रयासको फाइदा भनेको कुनै स्वस्थ्य व्यक्तिहरूको लागि सप्लिमेन्ट लिएरभन्दा पहिल्यै शरीरमा रहेको कम सच्याइरहनु रहेको हुन्छ।

अर्को जटिलता भनेको प्लासिबोको प्रभाव हो। कुनै वस्तुलाई औषधि भनेर सेवन गर्न दिँदा त्यो केही औषधि नभए पनि लिने मानिसले अब मलाई निको हुन्छ भनेर गर्ने विश्वास वा मनोवैज्ञानिक प्रभावले गर्ने फाइदालाई प्लासिबो प्रभाव भनिन्छ।

वा कुनै कुराका लागि सीमित वा कुनै पनि वैज्ञानिक तथ्य छैन तर कुखुराको मासुको झोल वा सुन्तलाको रसले जस्तो साँच्चिकै सञ्चो गराउँछ भन्ने ठानिन्छ र त्यस्तै मनोवैज्ञानिक प्रभाव पर्छ भने त्यसलाई प्लासिबोको रूपमा बुझ्नुपर्छ।

प्लासिबोहरू दुखाइदेखि पेट असहज हुने लक्षणहरू कम गर्नका लागि प्रभावकारी भएको पाइन्छ। यद्यपि त्यसको कारण अझै पूर्ण रूपबाट बुझिएको छैन। त्यसैले भिटामिन सी वा कुखुराको मासुको झोलको कुरा होस् प्लासिबो प्रभाव मात्रले पनि हामीलाई सर्दीबाट निको हुन सघाउँछ।

बीबीसी