१ असार २०८२, आइतवार
15 June 2025, Sunday

महाभियोग पारित भएसँगै दक्षिण कोरियाका राष्ट्रपति निलम्बित

महाभियोग पारित भएसँगै दक्षिण कोरियाका राष्ट्रपति निलम्बित

न्युयोर्क- दक्षिण कोरियाको संसद्ले राष्ट्रपति यून सुक यउललाई १२ दिन अघि संक्षिप्त अवधिका लागि उनले लगाएको ‘मार्शल ल’ घोषणाका लागि महाभियोग लगाएको छ। यसअघिको महाभियोग विफल भएको भएपनि शनिवार दोस्रो पटक उक्त प्रस्तावमा मतदान हुँदा त्यो पारित भएको हो।

उक्त प्रस्तावको पक्षमा २०४ मत परेको थियो भने ८५ मत विपक्षमा खसेको थियो। तीन जना सांसद अनुपस्थित भएका थिए र आठ वटा मत बदर भएको थियो। दक्षिण कोरियाको संसद्‌मा ३०० जना छन्। दुई तिहाई सांसदले महाअभियोगका पक्षमा मतदान गरेपछि सभामुखले महाभियोग पारित भएको घोषणा गरेका थिए।

संसद् भवनबाहिर यो निर्णयप्रति खुसी व्यक्त गर्दै प्रदर्शनहरू भइरहेका छन्। यून अब राष्ट्रपतिबाट निलम्बित भएका छन् र दक्षिण कोरियाको संवैधानिक अदालतलाई उनको राजनीतिक भविष्यबारे निर्णय गर्न १८० दिनको समय हुनेछ।

त्यसले उनलाई पदबाट हटाउन पनि सक्छ वा पुनर्बहाली पनि गर्नसक्छ। यो निर्णयसँगै दक्षिण कोरियाका प्रधानमन्त्री हान डक-सो कार्यवाहक राष्ट्रपति बनेका छन्। उनले स्थिर शासन दिन आफूले सकेको गर्ने बताएका छन्।