७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

राहदानी ‘रोक्का’ भएका नेपाली नागरिकले विदेशमा यात्रा गर्न पाउँछन् कि पाउँदैनन्

राहदानी ‘रोक्का’ भएका नेपाली नागरिकले विदेशमा यात्रा गर्न पाउँछन् कि पाउँदैनन्

न्युयोर्क- सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राई सहितका कैयौँ फरार आरोपितहरूको राहदानी “रोक्का गरिएको” प्रहरीले जनाएको छ।

राज्यले राईको राहदानी रोक्का गरिदिएको विवरण सार्वजनिक भएपछि सर्वसाधारण मानिसमा राहदानी रोक्का भनेको के हो, त्यसो भएपछि के हुन्छ र त्यस्ता राहदानी भएका व्यक्ति विदेशमा भए उनीहरूलाई कस्तो प्रभाव पर्छ भन्ने जिज्ञासा देखिएको छ।

कस्तो अवस्थामा राहदानी रोक्का हुन्छ र राहदानी रोक्का भएका व्यक्तिहरूको आवतजावत तथा विदेशमा बस्ने हैसियतमा कस्तो असर पर्छ भन्नेबारे हामीले अध्यागमन र राहदानी विभागका अधिकारीहरूसँग सोधेका छौँ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार अनुसन्धान निकायबाट अनुरोध आए “कानुनसम्मत रोक्का गर्न मिल्ने अवस्थामा” विभागले राहदानी रोक्का गर्ने गरेको छ। गैरनेपाली नागरिकले राहदानी लिएको वा गलत कागजपत्र पेस गरेर राहदानी लिएको प्रमाणित भएको अवस्थामा राहदानी रद्द पनि हुन सक्छ।

यसअघि प्रहरीले जीबी राईको राहदानी रद्द गर्न पत्राचार गरेको समाचार कतिपय सञ्चारमाध्यममा आएका थिए। तर विभागका अनुसार नेपाली नागरिकले रीतपूर्वक लिइएको राहदानी रद्द गर्न मिल्दैन, रोक्का मात्रै हुन्छ।

सहकारी प्रकरणमा प्रहरीको खोजी सूचीमा रहेका राई र अन्य केही व्यक्तिहरूको राहदानी केहीअघिबाटै रोक्का भएको विभागका महानिर्देशक अर्यालले बताएका छन्।

राहदानी रोक्का भएपछि के हुन्छ?

कानुनले राहदानी रोक्का भएपछि के हुन्छ भन्नेबारे स्पष्ट उल्लेख नगरेको अधिकारीहरू बताउँछन्। महानिर्देशक अर्यालका अनुसार राहदानी विभाग जारी गर्ने निकाय मात्रै भएकाले यसको प्रयोगबारे उक्त कार्यालयको कुनै क्षेत्राधिकार छैन।

“यसको प्रयोग हेर्ने विषयसम्बन्धी निकाय अर्कै छ। हाम्रो अधिकार जारी गर्नेसम्म मात्रै छ,” अर्याल भन्छन्।

“ऐनमा भएको कसुरमा अनुसन्धानका लागि रोक्का गरिदिन सम्बन्धित निकायबाट लेखेर आएको अवस्थामा मात्रै हामीले रोक्का गरेर त्यसको जानकारी सम्बन्धित निकायमा दिने हो।”

उनका अनुसार रोक्का भएको राहदानी प्रयोग भए वा नभएको जानकारी राहदानी विभागमा हुँदैन। राहदानी रोक्का गरिदिन माग गर्ने निकायलाई विभागले रोक्का राखिसकेपछि जानकारी मात्रै पठाउँछ।

त्यसपछि राहदानी प्रयोग रोक्ने जिम्मेवारी प्रहरी र अध्यागमन विभागको हुन्छ। “राहदानी विभागले रोक्का भएका व्यक्तिको राहदानी नवीकरण नगर्ने वा पुनः जारी नगर्ने पाटो मात्रै कार्यान्वयन गर्छ,” अर्याल भन्छन्।

राहदानी रोक्का भएका व्यक्ति राहदानीको म्याद सकिएको अवस्थामा मात्रै एक देशबाट अर्को देशमा हिँडडुल गर्न पाउँदैनन्। तर अन्य निकायबाट हिँडडुलमा रोक लगाउन पहल नभएको अवस्थामा नेपाल नआई एक देशबाट अर्को देशमा जान राहदानी रोक्का भएका कारण मात्रै रोक्न नसकिने अधिकारीहरूको बुझाइ छ।

अध्यागमनले के गर्छ?

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार राहदानी रोक्का भएको जानकारी सम्बन्धित निकायबाट आएको अवस्थामा विभागले त्यस्तो राहदानी नम्बर आफ्नो प्रणालीमा राख्ने गर्छ।

“राहदानी रोक्का राखिएको जानकारी प्रहरी वा अन्य निकायबाट आयो भने अध्यागमनको प्रणालीमा त्यस्ता व्यक्तिको विवरण राखिएको हुन्छ। सम्बन्धित निकायबाट पक्राउ गर्न वा के गर्न भनिएको छ अध्यागमनले त्यही अनुसार कार्यान्वयन गर्छ,” रिजालले भने।

राहदानी रोक्का भएका व्यक्ति नेपाल नै आउन नपाउने वा एक देशबाट अर्को देशमा जान नपाउने गरी रोक लगाउने अधिकार अध्यागमन विभागलाई नहुने अधिकारीहरू बताउँछन्।

“अध्यागमन विभागको क्षेत्राधिकारमा नेपालको अध्यागमन प्रणाली मात्रै पर्छ। पासपोर्ट रोक्का भएको वा कालोसूचीमा राखिएको जानकारी हामीलाई दिइएका व्यक्ति नेपाल आउँदा र जाँदा हामीले हेर्ने हो देश बाहिर हुने आवतजावत हामीले पनि रोक्न सक्दैनौँ,” अध्यागमन विभागका महानिर्देशक रिजाल भन्छन्।

कास्की प्रहरी प्रमुख श्यामबावु ओलियाले जीबी राईसहित अन्य केही व्यक्तिहरूको राहदानी रोक्का गरिएको बताए।

विदेशमा आवतजावत रोक्ने संयन्त्र के छ?

नेपालमा अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने आवश्यकता भएका व्यक्तिलाई विदेशबाट फर्काउन प्रहरीले इन्टरपोलको सहायता लिने गरेको छ।

प्रहरीले जीबी राइलाई खोज्न ‘डिफ्युजन नोटिस’ जारी गरेको जनाएको छ। अभियोजन अघि बढाउन पक्राउको आग्रहसहितको त्यस्तो सूचना आवश्यकता अनुसार केही इन्टरपोलका सदस्यराष्ट्रहरूलाई सम्बन्धित सरकार स्वयंले जारी गर्छन्।

अपराधमा दोषी ठहर भइसकेका वा अभियोजन चलाउनका लागि सम्बन्धित देशका अदालतले आवश्यक ठानेका व्यक्तिहरूबारे यो संयन्त्रबाट खोजी गर्न प्रहरीले सहयोग लिने गरेको छ।

राईलाई खोज्न नेपाल प्रहरीले इन्टरपोललाई जानकारी गराएको भए पनि मलेशियामा रहेको ठानिएका उनलाई स्वदेश फर्काउन नसकिएको अधिकारीहरूले बताएका छन्।

राहदानी रोक्का र इन्टरपोलमार्फत् सूचना जारी हुँदा मात्रै विदेशमा लुकेका सबै नेपालीलाई स्वदेश फर्काउन सम्भव नहुने जानकारहरू बताउँछन्। नेपालले सम्बन्धित देशसँग आपसी कानुनी सहायतासम्बन्धी सन्धि गरेको अवस्थामा मात्रै त्यस्तो देशमा लुकेका व्यक्तिलाई स्वदेश झिकाउन सहज हुने एक भूतपूर्व प्रहरी अधिकारी बताउँछन्।

कस्तो अवस्थामा राहदानी रोक्का हुन्छ?

नेपालको राहदानी ऐन २०७६ अनुसार निश्चित अवस्थाहरूमा राहदानी रोक्का हुन सक्छ।

  • राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध, अवैध हातहतियार कारोबार, सङ्गठित अपराध वा आतङ्कवादसम्बन्धी अनुसन्धानको कसूरको अभियोगमा अनुसन्धानमा रहेको व्यक्तिको अनुसन्धान अधिकारीको अनुरोधमा
  • राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध, अवैध हातहतियार कारोबार, सङ्गठित अपराध वा आतङ्कवादसम्बन्धी कसुरमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको आदेशबाट
  • राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध, अवैध हातहतियार कारोबार, सङ्गठित अपराध वा आतङ्कवादसम्बन्धी कसुरमा अदालतबाट कसुरदार ठहर भई सजाय भोगिरहेको अवस्थामा
  • ब्याङ्क तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी प्रचलित कानुन बमोजिम कालो सूचीमा परेको व्यक्तिको
  • सरकार वा अदालतको आदेशबाट विदेश जान रोक लगाएको वा राहदानी जारी नगर्न वा जारी भएको राहदानी रोक्का राख्न आदेश भएको
  • राहदानी जारी गर्ने निकायको निर्णयबाट

कानुनमा राहदानी रोक्काका लागि राहदानीको बहाल अवधि एक वर्षभन्दा बढी बाँकी रहेको हुनुपर्ने भनिएको छ।

बीबीसी