क्यानडा सरकारले विदेशी विद्यार्थीसँग माग्यो शैक्षिक विवरण
- २९ मंसिर २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- क्यानडा सरकारले विदेशी विद्यार्थीसँग विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । सरकारले विदेशी विद्यार्थीहरूलाई इमेल पठाएर विभिन्न कागजातहरू पेश गर्न भनेको हो । त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै इमेल पठाएको छ ।
क्यानडाको इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग (आईआरसीसी) ले विदेशी विद्यार्थीहरूलाई इमेल पठाउन थालेको छ । तीमध्ये धेरै विद्यार्थीको भिसा दुई वर्षसम्म मात्र मान्य छ। क्यानडा सरकारले विदेशी विद्यार्थीहरूका लागि एकपछि अर्को नियमहरू कडा पार्दै गएको सन्दर्भमा इमेल पठाएर कागजात मागेको हो ।
एमएसएनका अनुसार धेरै विद्यार्थीहरूले आईआरसीसीलाई स्पष्ट सूचना दिन र विद्यार्थीका चिन्ता सम्बोधन गर्न माग गरेका छन् । शैक्षिक परामर्शदाताहरूले भने विद्यार्थीहरूलाई सम्भावित समस्याहरूबाट जोगिन आफ्ना कागजातहरू तत्काल पेश गर्न सल्लाह दिएका छन् ।
विज्ञहरूका अनुसार यो निर्णय क्यानडाको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या घटाउने रणनीतिको हिस्सा हो । साथै, कति विद्यार्थी अध्ययन भिसामा आएर काम गर्न थालेका छन् भन्ने जानकारी राख्नु पनि सरकारको उद्देश्य हो ।