८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

ओपन एआईको कमजोरी बाहिर ल्याउने अनुसन्धानदाता मृत भेटिए

ओपन एआईको कमजोरी बाहिर ल्याउने अनुसन्धानदाता मृत भेटिए

न्युयोर्क- ओपन एआईको कमजोरी बाहिर ल्याउने एक अनुसन्धानदाता अमेरिकाको सान फ्रान्सिस्कोमा मृत फेला परेका छन्। छब्बिस वर्षका सुचिर बालाजीको शव नोभेम्बर २६ मा एउटा अपार्टमेन्टमा फेला परेको अधिकारीहरूले बताएका छन्।

उनको अवस्थाबारे बुझिदिन फोन आएपछि खोजी गर्ने क्रममा बालाजी मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ। सान फ्रान्सिस्कोमा भएको चिकित्सकीय जाँचमा उनको मृत्यु आत्महत्याका कारण भएको पहिचान भएको छ। प्रहरीले उनको मृत्यु पछाडी कुनै षड्यन्त्र भएको प्रमाण फेला नपरेको जनाएको छ।

पछिल्ला महिनाहरूमा बालाजीले ओपन एआईका केही अभ्यासविरुद्ध सार्वजनिक रूपमा आवाज उठाइरहेका थिए। ओपन एआईले डेटा सङ्कलन गर्ने आफ्नो अभ्यासविरुद्ध कैयौँ कानुनी लडाइँ सामना गरिरहेको छ।

अक्टोबरमा न्यूयोर्क टाइम्सले प्रकाशित गरेको बालाजीसँगको एक अन्तर्वार्तामा उनले ओपन एआईले उसको लोकप्रिय अनलाइन च्याटबोट च्याट जीपीटी बनाउने क्रममा अमेरिकाको प्रतिलिपि अधिकार उल्लङ्घन गरिरहेको बताएका थिए।

चार वर्षसम्म उक्त कम्पनीमा काम गरेका बालाजीले “ओपन एआईले च्याट जीपीटी जस्ता प्रविधि बनाउने क्रममा अर्कैको प्रतिलिपि अधिकार भएका विवरणको प्रयोग गरेर कानुनको उल्लङ्घन गरेको” दाबी गरेका थिए।

च्याट जीपीटीजस्ता प्रविधिले इन्टरनेटमा क्षति पुर्‍याइरहेको उनको दाबी थियो। ओपन एआईले भने आफूले तयार गरेका मोड्युलहरूले “सार्वजनिक रूपमा उपलब्ध विवरणको प्रयोग गर्ने” दाबी गर्दै आएको छ।

बालाजीले गएको अगस्टमा कम्पनी छोडेका थिए। उनले त्यसपछि आफू केही निजी परियोजनाहरूमा काम गरिरहेको न्यूयोर्क टाइम्ससँग बताएका थिए। अमेरिकाको क्यालिफोर्निआमा हुर्किएका उनले क्यालिफोर्निआ विश्वविद्यालयमा कम्प्युटर साइन्स पढेका थिए।