१६ बैशाख २०८२, मङ्लबार
29 April 2025, Tuesday

बेल्जियममा हीराको व्यापार संकटमा, व्यापारी पलायन

बेल्जियममा हीराको व्यापार संकटमा, व्यापारी पलायन

न्युयोर्क। ‘हीरा राजधानी’ मानिने बेल्जियमको बन्दरगाह सहर एन्टवर्पमा हीराको व्यापार संकटमा परेको छ ।

रुस–युक्रेन युद्धका कारण युरोपेली संघले रूसी हीरा आयातमा प्रतिबन्ध लगाएपछि हीराको व्यापारमा ऐतिहासिक रुपमै गिरावट भएको हो ।

सयौं वर्षदेखि हीराको व्यवसायको हब मानिएको उक्त सहरबाट धेरै व्यापारीहरु पलायन समेत हुन थालेका छन् । उक्त क्षेत्रको एकसय मिटर लामो सडकमा करिब दुई हजार हीरा कम्पनीहरूको घर थिए । तर ति अब बन्द हुने तरखरमा छन् ।

रुसी हीरामाथि युरोपेली संघले लगाएको प्रतिबन्धले बेल्जियमको कच्चा हीरा आयातमा तीव्र गिरावट आएको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा मात्रै, आयात ३८ प्रतिशतले घटेको छ, जसले हिरासँग सम्बन्धित रोजगारीमा उल्लेखनीय कमी आएको सीसीटीभीप्लसले जनाएको छ ।

दोस्रो पुस्ताका हीरा व्यापारी तारेक दायेखले ५० वर्ष पुरानो हीराको व्यापार छाड्नुपर्ने अवस्था आएको बताए । उनले इयूको प्रतिबन्ध, कडा नियमहरू, आर्थिक मन्दी र ऊर्जा संकटलगायतका कारण व्यवसाय छाड्नुपर्ने अवस्था आएको सुनाए । धेरै व्यापारीहरु दुवइतिर पलायन भएका छन् ।