जर्मनीको क्रिसमस मेलामा कार जोतिँदा कम्तीमा दुईजनाको मृत्यु, दर्जनौँ घाइते
- ०६ पुस २०८१
- २ मिनेटको पढाई
न्युयोर्क- जर्मनीको पूर्वी भागमा अवस्थित माग्डबर्ग सहरको एक क्रिसमस बजारमा तीव्र गतिमा रहेको एउटा कार मानिसहरूको भीडमा जोतिँदा एक शिशुसहित कम्तीमा दुईजना मानिसहरूको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार ६८ जना मानिसहरू घाइते छन् जसमध्ये कम्तीमा १५ जना गम्भीर अवस्थामा छन्। सन्दिग्ध हमलाकारी एक ५० वर्षीय साउदी चिकित्सक रहेको साक्सनी अनहल्ट राज्यका प्रमुख राइनर हाजलफले जनाएका छन्। ती व्यक्ति पक्राउ हुँदाको क्षण भिडिओ फुटेजमा देखिन्छ।
एकजना प्रत्यक्षदर्शीले उक्त हमला भएपछिको अवस्थालाई “भद्रगोलपूर्ण” बताएका छन्। बीबीसीकी बर्लिन संवाददाता जेसिका पार्कर यस घटनाले धेरै जर्मनहरूमा केही पीडादायी छाप छाड्ने बताउँछिन्। सन् २००६ यता जर्मनीमा बसिरहेका ती सन्दिग्ध व्यक्तिसँग त्यहाँको स्थायी आवास अनुमति रहेको प्रहरीले जनाएको छ।
स्थानीय अधिकारीहरूले त्यो नियतवश गराइएको हमला हुनसक्ने आशङ्का गरेका छन्। हमला गर्नु पछाडिको कारण अझै प्रस्ट नभईसके तापनि प्रहरीले उनी एक्लै त्यसमा संलग्न भएको देखिएको जनाएको छ। अहिलेसम्म उनको कुनै इस्लामिक अतिवादी संलग्नता थाहा भएको छैन।
जर्मन चान्सलर ओलाफ शोल्ट्स शनिवार माग्डबर्ग पुग्दैछन्। साउदी अरबको विदेश मन्त्रालयले उक्त हमलाको निन्दा गरेको छ। प्रतिआतङ्कवाद सम्बन्धी एकजना विज्ञ उक्त घटनामा ठूलो सञ्जालको संलग्नता नरहेको ठोकुवा गरिहाल्न छिटो हुने बताउँछन्।
माग्डबर्ग सहरका एकजना प्रवक्ताले घटनालगत्तै त्यस क्षेत्रका सबै अस्पताललाई व्यापक प्रभावितहरू आउन सक्नेगरी तयार पारिएको रोयटर्स समाचार संस्थालाई बताएका थिए।
बीबीसीका सुरक्षा संवाददाता फ्र्यान्क गार्डनर युरोपमा यसअघि भएका गाडी हमला अल-कायदा वा इस्लामिक स्टेट समूहबाट प्रभावित युवाहरूले गराउने गरेको बताउँछन्।
यस घटनाका सन्दिग्ध भने साउदी अरबबाट आएका अधबैँसे चिकित्सक हुन् जसमाथि कुनै आतङ्कवादी गतिविधिको निगरानी गरिएको थिएन। त्यसैले यस अनुसन्धानको एउटा पहिलो प्राथमिकता सन्दिग्ध व्यक्तिको नियत प्रस्ट पार्नु हुनेछ।
जर्मनीमा क्रिसमसको मेलामा गाडीको हमलाबाट मानिसहरूको मृत्यु भएको यो पहिलोपटक होइन। आठ वर्षअघि त्यहाँ कट्टरपन्थी सम्बद्धता भएका एकजना शरण पाउन विफल व्यक्तिले बर्लिन सहरको क्रिसमस मेलामा गाडी हमला गर्दा १२ जना मानिसहरू मारिनुका साथै ४९ जना घाइते भएका थिए।
त्यसको दुई वर्षपछि एकजना बन्दुकधारीले पूर्वी फ्रान्सको एक सहर स्टार्जबर्गमा अन्धाधुन्ध गोली चलाउँदा पाँचजना मारिनुका साथै ११ जना घाइते भएका थिए।