क्रिसमसको पूर्वसन्ध्यामा पोप फ्रान्सिसद्वारा ‘जयन्ती वर्ष-२०२५’ को शुभारम्भ
- ११ पुस २०८१
- २ मिनेटको पढाई
भ्याटिकन सिटी। पोप फ्रान्सिसले क्रिसमसको पूर्वसन्ध्यामा सेन्ट पिटर्स बेसिलिकाको ‘पवित्र ढोका’ खोल्दै क्याथोलिक उत्सवको ‘जयन्ती वर्ष-२०२५’को शुभारम्भ गरेका छन।
पाप, ऋण र विश्वव्यापी क्षमाको विशेष वर्ष मानिने ‘जुबली वर्ष’ मा दास र कैदीहरुलाई मुक्त गरिनुका साथै ऋण माफी गर्ने क्रिस्चियन समुदाय वा मुलुकहरुमा प्रचलन छ । उनीहरुले यो वर्षलाई परमेश्वरको कृपा हुने विशेष वर्षको रुपमा विश्वास गर्छन् ।
हालै रुघाखोकीबाट पीडित ८८ वर्षीय पोपलाई ह्वीलचेयरमा राखी काँसको विशाल ढोकासम्म पुर्याइएपछि उनले ढोका ढक्ढक्याएको र ढोका खुलेको थियो । ढोका खोल्नुलाई पाप वा ऋणबाट मोक्ष पाउने कुरासँग जोडेर पनि हेर्ने गरिन्छ । सेन्ट पिटर्स स्क्वायरको बाहिर क्षेत्रमा हजारौँ विश्वासीहरुले ‘स्क्रिन’मा हेरेको समारोहमा अर्जेन्टिनी धर्मगुरु ढोकाबाट छिरे र जुलुसमा सहभागी भए त्यसपछि भ्याटिकन बेसिलिकाको घण्टी बज्यो ।
अर्को १२ महिना क्याथोलिक तीर्थयात्रीहरु इँटाको गेट (ढोका) हुँदै आवतजावत गर्नेछन् । परम्परागतरुपमा काँसबाट बनेको ढोकाबाट छिर्नु वा छिर्न पाउनुलाई धार्मिकरुपमा विशेष लाभान्वित हुने विशेष अवसर (उनीहरुको पापबाट क्षमा) पाउने अवसरका रुपमा हेरिन्छ । पवित्र प्रदर्शनपछि पोप फ्रान्सिसले सेन्ट पिटर्समा ‘क्रिसमस इभ’ सभाको अध्यक्षता गरेका छन।
सभामा उनले विश्वमा वर्षभरि भएका युद्धलाई सम्झँदै भने,“हामी युद्धमा मेशिनगनका आवाज र विस्फोटले त्रस्त समाजका साथै विद्यालय र अस्पतालहरूमा भएको आक्रमणप्रति दुःखी छौँ ।” गाजामा इजरायलले गरेको आक्रमणको ‘क्रूरता’को निन्दा गरेका पोपप्रति इजरायली समुदायबाट आक्रोशित प्रतिक्रिया आएको थियो ।
उनले आफ्नो परम्परागत क्रिसमस डे आशीर्वाद, उर्बी एट ओर्बी (शहर र संसार) विषयमा बुधबार मध्याह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । जर्मनीको क्रिसमस बजारमा शुक्रबार भएको कार आक्रमणपछि भ्याटिकन र रोममा हुने जुबली समारोहका लागि करिब सात सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
रोमको धेरै भागलाई क्रिसमसको तयारीका लागि सिँगारिएको छ ‘ट्रेभी फाउन्टेन र पोन्टे सेन्ट एन्जेलो’ जस्ता स्मारकहरू सफा गरिएको छ र यातायातको चापलाई व्यवस्थित गर्न सूचना जारी गरिएको छ । कुञ्जी जुबली परियोजनाहरु महिनौँको कामपछि पछिला केही दिन अघि मात्र समाप्त भएका थिए । वर्षभरि नै शहरको धेरै भागमा भवन तथा अन्य निर्माणका काम भएका छन् ।
भ्याटिकनको छेउमा रहेको पियाजा पियामा सोमबार नयाँ सडक सुरुङको उदघाटन गर्दै प्रधानमन्त्री जियोर्जिया मेलोनीले यो परियोजना समयमै सम्पन्न गर्न ‘सानो नागरिक चमत्कार’ गरेको बताएका छन। आगामी केही दिनमा रोमका तीन प्रमुख बेसिलिका र विश्वभरका क्याथोलिक चर्चहरुमा पवित्र ढोकाहरु खोलिनेछन् । पोप फ्रान्सिसले बिहीबार रोमको रेबिबिया कारागारको पवित्र ढोका खोल्नुहुनेछ र कैदीहरुको समर्थनमा एक सामूहिक प्रार्थना सभाको अध्यक्षता गर्नेछन।