१३ बैशाख २०८२, शनिबार
26 April 2025, Saturday

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन

न्युयोर्क- मेरिकाका ३९ औँ राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ। उनको आइतबार १०० वर्षको उमेरमा निधन भएको द कार्टर सेन्टरले जानकारी दिएको छ।

वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति बनेका जिमी कार्टरले एक उथलपुथलपूर्ण कार्यकालपछि भने हार व्यहाेरेका थिए। ह्वाइट हाउसपछिको जीवनलाई विश्वव्यापी फाइदाका लागि उनले प्रयोग गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले लेखेका छन्।

सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपति कार्टरले अडियोबुक वा बोलेको शब्द रेकर्डिङका लागि तीन ग्रामी अवार्ड पनि जितेका थिए। जर्जियाको सानो शहर प्लेन्सस्थित उनको घरमा उनको आइतबार निधन भएको हो। उनकी पत्नी रोजलिनको पनि यही घरमा नोभेम्बर २०२३ मा ९६ वर्षको उमेरमा निधन भएको थियो। कार्टर सेन्टरका अनुसार उनीहरूको जीवनको अधिकांश समय यही घरमा बितेको छ।

‘हाम्रा संस्थापक तथा पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको आज अपराह्न जर्जियाको प्लेन्समा निधन भएको छ,’ सेन्टरले सामाजिक सञ्जाल एक्समा उनको निधनबारे पोस्ट गरेको छ। आफ्नो परिवारले घेरेर शान्तिपूर्वक उनको मृत्यु भएको पनि कार्टर सेन्टरले लेखेको छ।

कार्टरको निधनप्रति विश्वभरबाट प्रतिक्रिया आइरहेका बेला राष्ट्रपति जो बाइडेनले पनि कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्।