५ बैशाख २०८२, शुक्रबार
18 April 2025, Friday

गैरआवासीय नेपाली सङ्घका पदाधिकारी र बेलायतका राजदूतबिच भेट

गैरआवासीय नेपाली सङ्घका पदाधिकारी र बेलायतका राजदूतबिच भेट

काठमाडौं। गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग भेटवार्ता गरेका छन् ।

भेटघाटमा विशेषतः नेपाल र बेलायतबिचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

सङ्घका अध्यक्ष डा. बद्री केसीले नेपाली डायस्पोराले नेपालको जीडिपीमा पुर्‍याइरहेको योगदानलगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका समय नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराए।

नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष डा. केसीले उल्लेख गरे।

त्यस्तै, उपाध्यक्ष डा. विनोद श्रेष्ठले अस्ट्रेलियामा डायस्पोराका विभिन्न गतिविधि, ज्ञान, सीप र प्रविधिका क्षेत्रमा भएको प्रगति र त्यसलाई नेपाल भित्र्याउन भइरहेको पहल सम्बन्धमा जानकारी गराए । यस्तै, महिला उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका ब्रिटिस गोर्खाको मुद्दा स्मरण गराउदै नेपाल र बेलायत सरकारको उच्च तहबाटै उक्त मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिए।

उनले महिला बालबालिका तथा बेलायतमा रहेका नेपाली विद्यार्थीका विषयमा नेपाली डायस्पोराले गरिरहेको पहलबारे जानकारी गराएका थिए । उक्त अवसरमा नेपाल फेस्टिबल, दोस्रो पुस्ताको डायस्पोरालगायतका विषयमा पनि छलफल भएको थियो ।

भेटमा राजदूत रोब फेनले युवाहरूको रोजगारी सिर्जना र त्यसका लागि सहकार्यको अवसरहरूलाई जोड दिँदै नेपाल र बेलायतका बिच सहकार्यलाई अझ प्रगाढ बनाउनका लागि आफ्नो सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रवासमा रहेका नेपालीहरूको सक्रिय सहभागिता नेपालका लागि अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै उनले यथेष्ट लगानी नेपालमा भित्रिन नसक्नुको कारणबारे खोजी गरी बढीभन्दा बढी लगानी भित्र्याउन जोड दिनुपर्ने बताए। उनले शिक्षा, व्यापार, युवा रोजगारीका क्षेत्रमा नेपाली डायस्पोरासँग सम्भावित सहकार्य हुन सक्ने विश्वास व्यक्त गरे। उक्त भेटमा सङ्घका सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति थियो ।