१७ माघ २०८१, बिहिबार
30 January 2025, Thursday

अमेरिकी अनुदान स्थगित

अमेरिकी अनुदान स्थगित

काठमाडौँ। अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ।

नेपाल सरकार र युएसएडबिच सन् २०२२ मे ५ तारिखमा भएको सम्झौता अनुसार नेपाललाई प्राप्त सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तान हुने प्रकृतिका अनुदान सहयोग तत्कालका लागि ९० दिनलाई स्थगित भएको मन्त्रालयले जनाएको हो। युएसएड नेपालले मन्त्रालयलाई पत्र लेख्दै ती परियोजना स्थगित भएको जानकारी गराएको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार बजेट प्रणालीमार्फत सञ्चित कोषबाट खर्च हुने गरी ‘युएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएड एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएड एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘युएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ गरी चार वटा सहायता परियोजना अमेरिकी सहयोगमा सञ्चालित छन्।

मन्त्रालयले यस अवधिका लागि स्थगित गरिएका आयोजना अन्तर्गत कुनै दायित्व सिर्जना नगर्न पनि सम्बद्ध सबै निकायलाई सचेत गराएको छ।

युएसएड अमेरिकी सरकारले विभिन्न देशलाई अनुदान सहायता प्रदान गर्ने निकाय हो। नेपालमा यो निकायले बजेटरी प्रणालीमार्फत सञ्चित कोषबाट खर्च हुनेबाहेक सोझै खर्च गर्ने गरी अन्य सहायता परियोजना पनि सञ्चालन गरिरहेको छ। सरकारको बजेटरी प्रणाली र कोषमा पनि नआउने त्यस्ता अनुदान सहयोग पनि केही समयका लागि स्थगित हुने छन्। यस्ता परियोजना १५० भन्दा बढी छन्।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता कार्यभार समालेलगत्तै खर्च कटौती योजना अन्तर्गत विश्वभर उपलब्ध गराइएको अनुदान कटौती गर्ने निर्णय ट्रम्स प्रशासनले गरेको थियो। जस अनुसार खास गरी युएसएडमार्फत उपलब्ध गराइएका त्यस्ता परियोजना ९० दिनका लागि स्थगित भएका छन्। यसबिचमा त्यस्ता परियोजनाको मूल्याङ्कन गरी आवश्यकता र औचित्यका आधारमा मात्रै पुनः सञ्चालन गर्ने अमेरिकी सरकारको योजना छ।