७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

डोनल्ड ट्रम्पको योजनामा रहेका करहरू केके हुन्, यिनले कुनकुन देशलाई मार पर्न सक्छ

डोनल्ड ट्रम्पको योजनामा रहेका करहरू केके हुन्, यिनले कुनकुन देशलाई मार पर्न सक्छ

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने धम्की दिइरहेका छन्।

उनले क्यानडा र मेक्सिकोले उनीहरूको देश हुँदै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीको प्रवाह र फेन्टनाइल औषधि नरोके उनीहरूका सामानमा २५ प्रतिशत कर लगाउने बताएका छन्।

उनले चीन र युरोपेली सङ्घबाट भित्रिने सामानहरूमा १० प्रतिशत कर लगाउने पनि बताएका छन्। चीन, मेक्सिको र क्यानडा अमेरिकाका मुख्य व्यापार साझेदारहरू हुन्। कर लगाएपछि त्यसले उनीहरूको अर्थतन्त्रलाई नराम्ररी मर्का पर्न सक्छ र अमेरिकी उपभोक्ताका लागि पनि मूल्य वृद्धि हुन सक्छ।

‘ट्यारिफ’ के हो र कसरी लागु हुन्छ

आयातित सामानहरूमा लगाइने करलाई ‘ट्यारिफ’ भनिन्छ। यस्तो कर सामान निर्यातकर्तामा नभई आयात गर्ने कम्पनीहरूमा लागु गरिन्छ र यो आयातको मूल्यको अनुपातमा हुन्छ। यदि कुनै कम्पनीले कार आयात गर्दै छ र त्यसको मूल्य ५०,००० डलर छ र त्यसमा २५ प्रतिशत कर तोकिएको छ भने प्रत्येक कार किन्नका लागि उसले थप १२,५०० डलर तिर्नुपर्छ।

अन्तिममा करको आर्थिक भार कसलाई पर्छ भन्ने प्रश्न निकै जटिल छ। यदि अमेरिकाको कम्पनीले आयात गर्दै छ र उसले करको मूल्य जो व्यक्तिले सामान किन्दै छ उसमाथि उच्च खुद्रा मूल्य तोकेर लियो भने आर्थिक भार त्यही अमेरिकी उपभोक्ताले बेहोर्नुपर्छ।

ट्रम्प किन यस्तो करको पक्षमा छन्?

डोनल्ड ट्रम्प प्राय: के बताउँछन् भने यस्तो कर लगाउँदा त्यसले अमेरिकामा घरेलु रोजगारी सिर्जना र संरक्षण गर्छ। त्यसै गरी यसले गर्दा राजस्व बढ्ने र अमेरिकी अर्थतन्त्र वृद्धि हुने उनको दाबी छ।

“मेरो योजनाअन्तर्गत, अमेरिकी कामदारहरूले आफ्नो जागिर गुम्ने चिन्ता अब गर्नुपर्दैन,” सन् २०२४ मा चुनावी अभियानका बेला उनले भनेका थिए। “बरु, विदेशी राष्ट्रहरूले आफ्ना नागरिकको रोजगारी गुम्नेबारे चिन्ता गर्नुपर्नेछ।”

बीबीसीका आर्थिक सम्पादक फैजल इस्लामले ट्रम्पले विश्वव्यापी आर्थिक नक्सालाई बदल्न चाहेको र अमेरिकासँग चीन तथा युरोपको आयातभन्दा निर्यात बढी हुने अवस्था घटाउन चाहेको बताए। तर त्यसले “अमेरिकालाई हानि पुग्ने” इस्लामको दृष्टिकोण छ।

ट्रम्पले राष्ट्रपतिका रूपमा सन् २०१८ मा स्टील र एल्यमिनिअममा पनि यस्तो कर लगाएका थिए र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षाको बचाउ गर्ने बताएका थिए।

ट्र्म्पले आफ्नो पहिलो कार्यकालमा कस्ता कर लगाएका थिए?

सन् २०१८ मा ट्रम्पले आयातित लुगा धुने मशीन र सोलर प्यानलहरूमा ५० प्रतिशतसम्म कर लगाएका थिए। अमेरिकी सरकारले यी दुवै सामग्रीका उत्पादकहरूले देशबाहिरबाट अन्यायपूर्ण प्रतिस्पर्धाको सामना गरिरहेको जनाएको थियो।

उनले आयातित स्टीलमा २५ प्रतिशत र एल्यमिनिअममा १० प्रतिशत कर लगाएका थिए। ‘नाफ्टा’ भनिने ‘नोर्थ अमेरिकन फ्री ट्रेड अग्रीमन्ट’ अर्थात् खुला व्यापार सम्झौताका कारण मेक्सिको र क्यानडाबाट भित्रिने स्टील र एल्यमिनिअममा कर छुट दिइन्थ्यो। तर उक्त सम्झौतालाई पछि यूनाइटिड स्टेट्स मेक्सिको क्यानडा अग्रीमन्ट (यूएसएमसीए) ले प्रतिस्थापित गर्‍यो।

अमेरिकालाई सबैभन्दा धेरै स्टील निर्यात गर्नेमध्येको एक युरोपेली सङ्घले पनि जबाफस्वरूप ३ अर्ब डलरभन्दा बढी मूल्य बराबरका अमेरिकी सामग्रीको निर्यातमा कर लगायो। त्यस्ता निर्यातका वस्तुमा जिन्स, बोर्बन र हार्ली डेभिड्सन मोटरसाइकलसमेत रहेका थिए।

ट्रम्पले ३६० अर्ब डलरभन्दा बढी मूल्यका चिनियाँ वस्तुहरूमा पनि कर लगाए। ती वस्तुमा मासुदेखि साङ्गीतिक वाद्यवादनका सामाग्रीसम्म पर्थे। चीनले पनि जबाफस्वरूप ११० अर्ब डलरभन्दा बढीका अमेरिकी सामानहरूमा पनि कर लगायो। जो बाइडन राष्ट्रपति हुँदा धेरैजसो करहरू कायमै राखिए र विद्युतीय गाडीहरूमा थप कर लगाइयो।

ट्रम्पले पहिलो कार्यकालमा लगाएको करले अन्य देशहरूमा कस्ता असर पारेका थिए?

ट्रम्पले लगाएका करहरूले केही निश्चित देशहरूबाट अमेरिका आयात हुने सामग्रीको परिमाण घटायो, तर अन्य देशहरूबाट अमेरिकाले आयात गर्ने सामग्रीको परिमाण बढायो।

सन् २०१८ अगाडि अमेरिका आयात हु मध्ये २० प्रतिशतभन्दा बढी वस्तुहरू चिनियाँ थिए। अमेरिकाको तथ्याङ्कसम्बन्धी निकायका अनुसार अहिले त्यसको मात्रा १५ प्रतिशतभन्दा कम छ। सन् २०२३ सम्ममा चीनलाई उछिनेर मेक्सिको अमेरिकामा सबैभन्दा धेरै सामान निर्यात गर्ने देश बनेको छ। अहिले उसले अमेरिकामा ४७६ अर्ब डलरको सामान निर्यात गर्छ जबकि चीनले भने ४२७ अर्ब डलर मात्रै निर्यात गर्छ।

खास गरी धेरै कार निर्माता कम्पनीहरूले अमेरिकासँगको खुला व्यापार सम्झौताको फाइदा लिन र निर्माणका लागि पनि कम लागत पर्ने भएका कारण आफ्नो निर्माण मेक्सिकोमा सारेका थिए। सन् २०२३ मा मेक्सिको गाडी बनाउने विश्वको सातौँ ठूलो देश बनेको छ। ट्रम्पले चीनमा चर्को कर लगाएपछि पूर्वी एशियाका देशहरूले अमेरिकामा गर्ने निर्यात पनि बढ्यो।

अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामानहरूभन्दा ती देशमा सामानहरू सस्तो परेका कारण पनि त्यस्तो भएको हो। अर्को कारण भनेको थुप्रै चिनियाँ कम्पनीहरूले अमेरिकी कर छल्न आफ्नो कम्पनी पूर्वी एशियाका अन्य देशहरूमा सारे।

‘यूएस ट्रेड रेप्रिजेन्टटिभ’को तथ्याङ्कअनुसार इन्डोनेशिया, फिलिपिन्स, थाईल्यान्ड र भियतनामसमेत सामेल रहेको व्यापार समूह ‘आसिआन’बाट सन् २०१६ मा अमेरिकामा १५८ अर्ब डलर बराबरको सामान निर्यात भएको थियो। तर सन् २०२३ मा त्यहाँबाट झन्डै ३३८ अर्ब डलर बराबरको निर्यात भएको छ।

“सन् २०१८ मा लगाइएको करका कारण सबैभन्दा बढी मार परेको देश चीन हो,” यूकेमा रहेको यूनिभर्सिटी अफ ससेक्सका अर्थशास्त्री डाक्टर निकोलो टाम्बेरीले भने। “मलाई लाग्छ त्यो चरणमा लगाइएको करका कारण सम्भवतः सबैभन्दा बढी फाइदा भियतनामले लियो।”

पिटर्सन इन्स्टिट्यूट फर इन्टर्न्याश्नल ईकनोमिक्सका अनुसार कर लगाइएपछि अमेरिकामा स्टील र एल्यमिनिअमको उत्पादन बढ्यो तर सँगै धातुको भाउ पनि बढ्यो। परिणामस्वरूप अन्य निर्माण उद्योगहरूमा हजारौँ मानिसको जागिर गुमेको उसले जनाएको छ।

पिटर्सन इन्स्टिट्यूटले ट्रम्पको कर लगाउने निर्णयले सबैतिर मूल्य बढेको र अमेरिकी उपभोक्ताहरू सबैभन्दा मारमा परेको जनाएको हो।

दोस्रो कार्यकालमा ट्रम्पले कस्ता करहरू लगाउन सक्छन्?

ट्रम्पले मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोकेसम्म उनीहरूमाथि २५ प्रतिशत कर लगाउने धम्की दिइरहेका छन्।

उनले चिनियाँ वस्तुहरूमाथि अहिले भइरहेकोमा जोडेर १० प्रतिशत “दण्डात्मक” कर लगाउने बताएका छन्। गैरकानुनी औषधि फेन्टनिल बनाउनका लागि धेरैजसो रसायन चीनबाट आउने दाबी गर्दै उनले त्यस्तो करको घोषणा गरेका हुन्। फेब्रुअरी १ तारिखसम्ममा यो लागु हुन सक्ने छ। ट्रम्पले युरोपेली सङ्घभित्रका देशहरूले पनि “एकदमै नराम्रो व्यवहार” गरेको भन्दै त्यहाँ पनि करहरू लगाउने धम्की दिएका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पले कर लगाएमा जबाफमा आफूले पनि अर्बौँ डलरबराबरका सामानमा कर लगाउने बताउँदै भने, “क्यानडाले प्रतिक्रिया जनाउने छ र सबै कुरा तयारी अवस्थामा छ।” चीनको विदेश मन्त्रालयले थप करको प्रतिक्रियामा चीनले “राष्ट्रिय स्वार्थहरूको प्रत्याभूति” गर्ने बताएको छ।

पछिल्ला करहरूले क्यानडा र मेक्सिकोलाई कसरी मार पर्नसक्छ?

यदि हाल चर्चामा रहेका करहरू लागु भए त्यसले खास गरी क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने यूकेमा रहेको न्याश्नल इन्स्टिट्यूट अफ ईकनोमिक एन्ड सोशल रिसर्चका प्राध्यापक स्टेफन मिलर्डले बताए।

यी दुवै देश अमेरिकामा धेरै निर्भर छन्। अमेरिकाले अहिले मेक्सिकोले देशबाहिर निर्यात गर्नेमध्ये ८३ प्रतिशत वस्तुहरू खरिद गर्छ भने क्यानडाको निर्यातको ७६ प्रतिशत अमेरिका भित्रिन्छ।

“क्यानडाले ठूलो मात्रामा तेल र मशीनरी अमेरिकालाई बिक्री गर्छ,” प्राध्यापक मिलर्डले भने, “र २५ प्रतिशत कर लगाउँदा पाँच वर्षको अवधिमा उसको गार्हस्थ्य घरेलु उत्पादन ७.५ प्रतिशतले खुम्चिन्छ, त्यो असाध्यै उल्लेख्य असर हो।” “मेक्सिकोमा २५ प्रतिशत कर लागु गरियो भने त्यहाँ कार बनाउन बनाइएका केन्द्रहरू सजिलै आफ्नै देशमा फर्किने छन्।”

“करले पाँच वर्षको अवधिमा मेक्सिकोको १२.५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन घटाउने छ। यो धेरै ठूलो असर हुने छ।”
अमेरिकी थिङ्क ट्याङ्क विल्सन सेन्टरमा रहेको मेक्सिको इन्स्टिट्यूटकी लिला आबेदले मेक्सिकन कामदारका लागि अमेरिकाले दिएको कर लगाउने धम्की “विनाशकारी” हुने बताइन्।

“करिब ५० लाख अमेरिकीको जागिर अमेरिका-मेक्सिको व्यापारमा भर पर्छ… र हालैको एउटा अध्ययनका अनुसार मेक्सिकोमा करिब १४ लाख ६० हजार मानिसको रोजगारी नर्थ अमेरिकी साझेदारहरूसँग निर्भर रहन्छ,” उनले भनिन्।

बीबीसीबाट