२ असार २०८२, सोमवार
16 June 2025, Monday

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

न्युयोर्क- दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएका छन् ।

राजधानी जुबाका लागि उडेको विमान स्थानीय समयअनुसार करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । ‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जनामात्र बाँचेका छन्’, गतवेच विपालले भने ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी)ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए । उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए । -एएफपी