कंगोको गोमा विद्रोहीको कब्जामा‚ दशौँ हजार पलायन
- १६ माघ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- कंगो लोकतान्त्रिक गणराज्य (डीआरसी)को गोमा शहर रवाण्डाको समर्थित एम२३ विद्रोहीले कब्जा गरेका छन्। विद्रोहीले कब्जा गरेसँगै गोमाका हजारौँ बासिन्दा शहर छोडेर भागेका छन्।
विद्रोहीले संयुक्त राष्ट्रसंघको शान्ति सेनाको अस्पताल भएको क्याम्पलाई घेरेका छन्। अमेरिकाले कंगोको गोमा शहर कब्जाबाट आफू दुःखी भएको बताएको छ। विद्रोही सेनाले २ दिनको युद्धबाट २० लाख जनसंख्या भएको गोमा शहर नियन्त्रणमा लिएका हुन्। विद्रोहीको आक्रमणका कारण गोमाका सडकमा लास छरिएका छन्, अस्पताल भरिएका छन् र राष्ट्रसंघीय सैनिक आफ्नै शिविरमा खुम्चिएका छन्।
विद्रोहीले अन्ताराष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएका छन्। कंगोमा वर्षौंदेखि युद्ध जारी छ। अमेरिकाले मंगलवार संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद्सँग आक्रमण रोक्ने निर्देशन दिन आग्रह गरेको छ। अफ्रिकी संगठनले पनि एम२३ लाई तत्काल गोमा शहर छोड्न भनेको छ।
सामाजिक सञ्जाल एक्समा रवाण्डाका राष्ट्रपति पल कागमेले आफूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग फोनवार्ता गरेको बताए। वार्तामा युद्धविराममा सहमति जनाए पनि गोमाबाट विद्रोही सेना फिर्ता नहुने बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले भनेको छ‚ ‘रुबियोले कागमेसँग वार्ता गर्नुभएको छ। उहाँले रवाण्डालाई ‘सम्प्रभु क्षेत्रीय अखण्डता’को सम्मान गर्न आग्रह गर्नुभएको छ।’
कंगो र रवाण्डा दुवै देश पूर्वी अफ्रिकी संगठनका सदस्य हुन्। आठ सदस्यीय उक्त क्षेत्रीय संगठनको आज साँझ आपत्कालीन शिखर सम्मेलन हुँदै छ।
रवाण्डाका राष्ट्रपति कागमे पनि सहभागी हुने बताइएको छ। कंगोका राष्ट्रपति फेलिक्स त्सेसीकेदी पनि सम्मेलनमा उपस्थित नहुने बताइएको छ। कंगोका राष्ट्रपति त्सेसीकेदीले बुधवार राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
एम २३ विद्रोहीको नेतृत्व तुत्सी जातिका व्यक्तिले गर्दै आएका छन्। उनीहरूलाई रवाण्डा सरकारको समर्थन रहेको छ। एम२३ विद्रोहीको गठन ३० वर्षअघि रवाण्डामा भएको नरसंहारपछि भएको थियो। उक्त नरसंहारमा हुतु कट्टरपन्थीले तुत्सी र उदारवादी हुतु जातिका व्यक्तिको हत्या गरेका थिए।
उक्त घटनासँगै कागमे नेतृत्वको तुत्सी सेनाले हुतु कट्टरपन्थीलाई उक्त क्षेत्रबाट धपाएको थियो।