२ असार २०८२, सोमवार
16 June 2025, Monday

अमेरिकामा विमान र हेलिकप्टर ठोकिएर भएको दुर्घटनामा ३० जनाको शव भेटियो

अमेरिकामा विमान र हेलिकप्टर ठोकिएर भएको दुर्घटनामा ३० जनाको शव भेटियो

न्युयोर्क- वाशिङ्टन डीसी नजिकै अमेरिकी एअरलाइन्सको विमान आकाशमा अमेरिकी सेनाको हेलिकप्टरसँग ठोकिएर दुर्घटना हुँदा उद्धार टोलीले ३० जनाको शव फेला पारेको छ ।

विमानमा चालक दलका सदस्यसहित ६४ जना र हेलिकप्टरमा तीन जना सैनिक रहेका थिए । वाशिङ्गन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो । आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका एएफपीले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वाशिङ्टनका अग्नि नियन्त्रक जोन डोनेली बताए। अधिकारीहरूले दुर्घटनामा कोही बाँचेका छन् या छैनन् भन्ने कुरा अहिले भन्न नमिल्ने बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाबारे आफूले जानकारी पाएको र अवस्थाको अनुगमन भइरहेको सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन । वाशिङ्गटन डीसीका मेयर मुरिएल बाउसरले दुर्घटनाको अनुसन्धानका लागि कुनै सीमा नतोकिएको बताए ।

यो दुर्घटना अमेरिकामा सन् २००९ पछि व्यावसायिक विमानमा भएको सबैभन्दा ठूलो मानिएको छ । सन् २००९ को फेब्रुअरी महिनामा कन्टिनेन्टल एअरलाइन्सको यात्रुवाहक विमान न्युयोर्कको विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा घरमा गएर जोतिँदा ४९ जनाको ज्यान गएको थियो ।