१८ माघ २०८१, शुक्रबार
31 January 2025, Friday

ट्रम्पका राष्ट्रवादी कदमले छिमेकीको टाउको दुखाउँदै

ट्रम्पका राष्ट्रवादी कदमले छिमेकीको टाउको दुखाउँदै

न्युयोर्क- यस पटक अमेरिकाका निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको आरम्भ विभिन्न कार्यकारी आदेशहरू जारी गरे सँगै त्यसले विश्वमा नयाँ तरङ्ग ल्याएको छ । पदभार ग्रहण गरेको केही घण्टा भित्रै उनले ह्वाइटहाउसबाट सयभन्दा बढी विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेर अनुमोदन गरे । मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरिएको छ भने लागुपदार्थ तस्करहरूको गिरोह, कार्टेलहरूलाई आतङ्कवादी सङ्गठन भनिएको छ ।

ट्रम्पले निवर्तमान बाइडेन प्रशासनले लागु गरेका झण्डै ८० वटा प्रावधानलाई उल्टाइ दिएका छन भने पेरिस जलवायु सम्झौताबाट फेरि अमेरिकालाई अलग गराए । राष्ट्रपति ट्रम्पले ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ नाम दिइएको सरकारी खर्च प्रभावकारितासम्बन्धी विभाग, लैङ्गिक विचारधाराबाट महिलाहरूको प्रतिरक्षा र सङ्ंघीय सरकारमा जैविक सत्यताको पुनस्र्थापना गरेका छन । विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने प्रक्रियाको थालनी गर्दै टिकटकमाथिको प्रतिबन्ध हटाइएको छ । सन् २०२१ को जनवरी ६ मा क्यापिटल भवनमा भएको दङ्गामा संलग्नहरूलाई क्षमादान दिइएको छ । भूतपूर्व सरकारी अधिकारीहरूलाई निर्वाचनमा चलखेल गरेकोमा जिम्मेवार ठहर गरी आवश्यक कारबाही गरिने भएको छ ।

सोमबार(जनबरी २०) भब्य शपथग्रहण समारोहमा उनले २९ मिनेट लामो भाषणमा अमेरिकी सपनालाई पुर्नस्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्ववर्ती राष्ट्रपतिको प्रशासनले अराजकता र विनाश छाडेर गएको आरोप लगाउन पछि परेनन् । उनले अहिलेबाटै अमेरिकाको स्वर्ण युग सुरु हुन्छ भन्दै आजका दिनदेखि हाम्रो देश फस्टाउने र सम्मानित हुने दाबी गरे । उनले आफूले पहिला सय दिनमा गर्ने कामहरू, लिने नीतिहरू र प्रतिबद्धताहरूको लामो सूचीसहित त्यसको विस्तृत विवरणसमेत सार्वजनिक गरेका छन। ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने र अध्यागमनसम्बन्धी नियमहरू कार्यान्वयनका लागि राष्ट्रिय सेना परिचालन गरिने बताए।

त्यस्तै तत्काल कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकामा तत्कालै सेन्सरसिप अन्त्य गर्ने र वाक् स्वतन्त्रता फिर्ता ल्याउने घोषणा गर्दै उनले भाषणका क्रममा आफ्नो अराजक र अशान्तिपूर्ण चुनावी अभियानको सबैभन्दा महत्वपूर्ण क्षणको स्मरण गर्दै भने, “ ममाथि गोली बर्साए पनि मलाई ईश्वरले बचाए ।” “हाम्रो अभियान रोक्न चाहनेहरूले मेरो स्वतन्त्रता खोस्न खोजे र वास्तवमा ज्यानै लिन खोजे । मलाई अमेरिकालाई फेरि महान् बनाउनका लागि बचाइएको हो ।” ट्रम्पले आफ्नो वैदेशिक र अन्तरिक्ष नीति तथा प्रतिबद्धताबारे पनि उल्लेख गर्दै उनले वैदेशिक क्षेत्रमा नाटकीय कदम चाल्ने बताए। पानमा नहरलाई अमेरिकी नियन्त्रणमा ल्याउने भएको छ । “हामी यसलाई फिर्ता ल्याउने छौँ,” ट्रम्पले भने। ’गल्फ अफ मेक्सिको’को नामलाई परिवर्तन गरेर ’गल्फ अफ अमेरिका’ बनाउने घोषणा समेत गरे । ट्रम्पले अन्तरिक्षतिर हेरेर भने, “हामी ताराहरूतर्फ अघि बढ्छौँ र मङ्गलग्रहमा हाम्रो झण्डा फहराउनेछौँ ।” अब अमेरिकामा जन्मका आधारमा नागरिकताको हकको परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय त्यसमा समेटिएका छन् । ट्रम्पले अमेरिकामा हुने सबै गैर कानुनी प्रवेश रोकिने भन्दै दशौँ लाख अपराधी विदेशीलाई देशनिकाला गरिने बताए।

अमेरिकामा जन्म भएकै आधारमा अमेरिकी नागरिकता पाउने अधिकारलाई अन्त्य गरिएको छ त्यसको अर्थ कागजातविहीन र सरकारी अभिलेखमा नरहेका आप्रवासीहरूका अमेरिकामा जन्मेका सन्तानहरू अब उप्रान्त स्वतः अमेरिकी नागरिक बन्न पाउने छैनन् । अमेरिकामा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले दोस्रो पटक ४७औँ राष्ट्रपतिका रुपमा पदभार सम्हालेका छन । उनले पानमा नहर, डेनमार्कको स्वायत्त भूभाग मानिएको ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिन सैनिक परिचालनको सम्भावना अस्वीकार नगरेको बताउँदै धेरै जनालाई सजग गराएका छन । ट्रम्पले दुवै भूभागलाई अमेरिकाको आर्थिक सुरक्षाका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुने दाबी समेत गरेका छन। अमेरिकी सेनालाई यस उद्देश्यका लागि परिचालन गर्नेबारे ट्रम्पले पहिलो पटक सार्वजनिक रूपमा यस्तो स्वीकारोक्ति गरेका हुन । उनले क्यानडालाई अमेरिकामा ‘समावेश’ गराउनेबारे पनि आर्थिक दबाब दिने बताए।

पानमा, ग्रिनल्यान्ड, डेनमार्क, मेक्सिको र क्यानडा सबैले यो भनाइप्रति आक्रोश सहितको आक्रोश दिएका छन् । बीसौँ शताब्दीको आरम्भमा पानमा नहर बनाउने कार्यको नेतृत्व र त्यसपछि दशकौँका वार्तापछि अमेरिकाले सन् १९९९ मा पानमाको पूर्ण नियन्त्रण पानमालाई हस्तान्तरण गरेको थियो । अहिले ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उक्त नहर अमेरिकी नियन्त्रणमा फिर्ता लिन चाहेका हुन । “पानमा नहर हाम्रो देशका लागि निकै महत्वपूर्ण छ । हामीले पानमा नहर पानमालाई दिएका थियौँ तर उनीहरूले त्यो उपहारको दुरुपयोग गरेका छन् । त्यो नहर चीनले चलाइरहेको छ र त्यसको दुरुपयोग गरेको छ । हामीले नहर चीनलाई दिएका थिएनौँ,” ट्रम्पले भने । बिबिसीका अनुसार यो नहर हुँदै ओहोरदोहोर गर्ने साधनहरूको ७२ प्रतिशत अमेरिकी ढुवानीका साधन छन् ।

चिनियाँ ढुवानीका साधन दोस्रोमा २२ प्रतिशत रहेको पानमा नहरसम्बन्धी निकायले जनाएको छ । पानमामा चीनले पनि उल्लेख्य आर्थिक लगानी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी व्यापारका लागि मात्रै नभई भविष्यमा चीनसँग हुनसक्ने सैन्य द्वन्द्वमा पनि यो नहर अमेरिकाका लागि अपरिहार्य हुन सक्छ । ट्रम्पले यसअघि अमेरिकी कार्गो पानीजहाजहरूलाई धेरै शुल्क लिएको आरोप पानमामाथि लगाएका थिए । पानमाका विदेशमन्त्री ह्याइए मार्टिनेज अचाले पानमा कनालको सार्वभौमसत्ताबारे कुनै वार्ता नहुने बताए।

“यो नहर नियन्त्रण गर्ने एक मात्रै हात पानमाका नागरिकसँग छ र त्यसको निरन्तरता कायमै रहन्छ,” मार्टिनेज अचाले जोड दिए। विश्वकै सबैभन्दा कम जनघनत्व भएको ग्रिनल्यान्ड डेनमार्कको स्वायत्त भूभाग हो । आफू पहिलो पटक राष्ट्रपति भएका समयमा सन् २०१९ मा ट्रम्पले ग्रिनल्यान्ड किन्ने योजना अघि सारेका थिए । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ट्रम्प प्रशासनसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउँदै तर ग्रीनल्यान्ड त्यहीँका जनताको भएको दाबी गरे ।

“ग्रिनल्यान्ड स्थानीय जनताको हो । त्यहाँका जनता आफ्नै भाषा र संस्कृतिमा गर्व गर्छन् । यसअघि पनि भनिसकेको कुरा हो कि ग्रिनल्यान्ड बिक्रीका लागि होइन,” फ्रेडरिक्सनले भने । ट्रम्पको चासो पनि अनपेक्षित किसिमको छैन किनभने यो भूभाग प्राकृतिक स्रोतमा धनी छ । डेनमार्कको भूगर्भ निकाय र ग्रिनल्यान्डको वेबसाइटमा विश्वकै सबैभन्दा ठूलो यो द्वीपमा पाइने बहुमूल्य खनिज र ऊर्जाका स्रोतहरूका लामा सूची छन् । त्यसमा बहुमूल्य सुन र प्ल्याटिनमदेखि लिथियम र टाइटानियमसहितका आठवटा दुर्लभ धातु सूचीकृत छन् । त्यस्तै कोइला र युरेनियमसहित ऊर्जा उत्पादनमा प्रयोग हुने तत्वहरू साथै हिरा र माणिक जस्ता बहुमूल्य पत्थरहरू त्यहाँ पाइन्छन् ।

त्यहाँ तेल र ग्यासको ठूलो भण्डार भएको पनि दाबी गरिएको छ । तर ती खानीहरू पहिचान हुन बाँकी छन् । ब्याट्रीको उत्पादनका लागि प्रयोग हुने दुर्लभ धातुहरू पाइने भएका कारण पनि ग्रीनल्यान्डलाई मूल्यवान मानिएको छ । विश्व बैङ्कले विश्वको माग पूरा गर्न यस्ता खनिजहरूको उत्खनन सन् २०२५ सम्म पाँच गुणाले बढाउनुपर्ने प्रक्षेपण गरेको छ । विश्व बैङ्कका अनुसार त्यो अमेरिकाका लागि मात्रै नभएर चीनका लागि पनि आवश्यक पर्न सक्छ । रुसले पनि यो क्षेत्रलाई रणनीतिक महत्वका दृष्टिले हेर्ने गर्छ ।

त्यसको कारण यो रुस र अमेरिकाको बीचमा अवस्थित हुनु पनि हो । अमेरिकाले यसअघिबाटै यो द्वीपमा बलिस्टिक क्षेप्यास्त्रको पूर्वचेतावनी दिने प्रणालीसहित आफ्नो सैन्य अखडा राखेको छ । ग्रीनल्यान्डमा सरकारको नेतृत्वमा अहिले स्वतन्त्रता पक्षधर प्रधानमन्त्री म्युत बी एग्दे छन । उनले उक्त टापु बिक्रीका लागि नभएको स्पष्ट पारेका छन । आगामी अप्रिलमा हुने संसदीय निर्वाचनसँगै यो द्वीपलाई स्वतन्त्र बनाउनेबारे जनमतसङ्ग्रह पनि हुनसक्ने उनले सङ्केत गरे। ट्रम्पले अमेरिकाको सबैभन्दा ठूलो छिमेकी क्यानडालाई पनि चिढ्याउने अभिव्यक्ति दिएका छन । उनले क्यानडासँगको सीमा ‘कृत्रिम’ रहेको र उक्त देश अमेरिकाको ‘५१औँ राज्य’ हुनसक्ने जस्ता अभिव्यक्ति दिएका छन ।

क्यानडाको सुरक्षाका लागि अर्बौँ डलर खर्च भइरहेको भन्दै ट्रम्पले वर्तमान अमेरिकी सरकारको आलोचना गरेका छन । उनले क्यानडाबाट कार, काठका सामान र दुग्ध पदार्थको आयातबारे पनि समस्या रहेको बताए । सिएनएनका अनुसार मेक्सिकोजस्तै क्यानडाबाट अमेरिकामा आयात हुने सामग्रीमा पनि आफ्नो प्रशासनमा २५ प्रतिशत कर लगाउने घोषणा ट्रम्पले गरेका छन । ट्रम्पले मेक्सिको र क्यानडाको सीमाबाट अमेरिकामा लागुऔषध आयात भइरहेको दाबी समेत गरे । यद्यपि अमेरिकी तथ्याङ्क अनुसार क्यानडासँगको अमेरिकी सीमाबाट जफत हुने लागुऔषध देशको दक्षिणी सीमाबाट बरामद हुनेभन्दा उल्लेख्य मात्रामा न्यून छ ।

क्यानडाले पनि सीमा क्षेत्रमा उच्च सुरक्षा बढाउन नयाँ नीतिहरू कार्यान्वयन गरिने जनाएको छ । उक्त देशले अघि सारेका योजनामा सीमा क्षेत्रमा निगरानी बढाउने र संयुक्त फौजहरूले सङ्गठित अपराध हुने परम्परागत नाकाहरूमा कारबाही गर्नेलगायत छन् । हालै राजीनामाको घोषणा गरेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आर्थिक शक्ति लगाएर क्यानडालाई अमेरिकामा मिलाउने ट्रम्पको अभिव्यक्तिको प्रतिवाद गरेका छन । उनले दुई देश एक हुने कुनै सम्भावना नरहेको बताएका छन् । राजनीतिक विश्लेषकका अनुसार अहिले ट्रम्प साम्राज्यवादी र विस्तारवादीजस्तो देखिएका छन । उनी वास्तवमै विश्वमा अमेरिकी पाइला फैलाउन चाहन्छन् । यो गम्भीर चेतावनी हो । ट्रम्पको पहिलो कार्यकाल भन्दा यो दोस्रो कार्यकाल निकै भिन्न हुने देखिँदै छ । यसले बाँकी विश्वमा अस्थिरता ल्याउन सक्छ ।

अमेरिकामा गएको नोभेम्बर ५ मा ४७औँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । निर्वाचनमा रिपब्लिकन पार्टीकातर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस चुनावी मैदानमा थिए । ट्रम्पले ५३८ इलेक्टोरल मतमध्ये ३१२ मत ल्याएर चुनाव जितेका हुन । उनको जितसँगै अमेरिकी संसद्को दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत पुगेको छ ।

सन्त रिसाल,न्युयोर्क