न्यूयोर्क : अमेरिकामा गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०८१ मनाएको छ। द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले विभिन्न सांस्कृतिक कार्यक्रम गरी ल्होसार मनाएको हो।
उक्त सोसाइटीले मुप्री ल्हो अर्थात गरुड वर्गको बिदाइ तथा सप्री ल्हो अर्थात सर्प वर्गको स्वागत गर्दै मनाएको कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक कमला गुरुङ, प्रमुख अतिथि हर्कजङ्ग गुरुङ, अध्यक्ष ओम बहादुर गुरुङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरुङ तथा संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरी गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि हर्कजङ्ग गुरुङ, विशेष अतिथि फिप्नाका अध्यक्ष तोरण गुरुङ रहेका थिए।
प्रमुख अतिथि हर्कजङ्ग गुरुङले ल्होछारको शुभकामना व्यक्त गरेका थिए। उनले विदेशमा रहेर पनि आफ्नो संस्कार र संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम मनाउने गरिएकोमा खुसी व्यक्त गर्दै भावि पुस्ताले पनि आफ्नो संस्कृतिलाई अंगाल्न र प्रवद्र्धन गर्न सहयोग गर्ने गरी वातावरण बनाउनुपर्ने बाए ।
विशेष अतिथि तोरण गुरुङ रहेका थिए। उनले पनि ल्होछारको शुभकामना दिदैँ गुरुङ संस्कार र संस्कृतिको संवर्द्धन गर्न आव्हान गरे ।
सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङले पनि विदेशी भूमिमा ल्होछार कार्यक्रम गरेर गुरुङहरूको संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको बताए ।
सोसाइटी महासचिव मच्छेदेवी गुरुङले ल्होछार पर्व नयाँ पुस्तालाई गुरुङ संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिदैँ सम्पूर्ण गुरुङ जातिबीच आपसी सद्भाव कायम गर्न र सबै गुरुङहरूलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण अवसर रहेको बताइन् ।
सोसाइटीका वरिष्ठ उपाध्यक्ष अलिशा गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना व्यक्त गरेकी थिइन् । ल्होछार कार्यक्रम २०८१ का सांस्कृतिक संयोजक तथा सोसाइटीका उपाध्यक्ष लिल गुरुङ तथा कार्यसमिति सदस्य बिन्दु गुरुङले कार्यक्रमबारे जानकारी दिंदै कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्ने सल्लाहकार, कार्यसिमिति सदस्य, कलाकार, तमु आमा समूह तथा स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा न्यूयोर्क र न्यूजर्सीका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो । सोसाइटीमा आवद्ध रही निस्वार्थ रुपमा निरन्तर योगदान गरेकाको कदर गर्दै दुई जनालाई सम्मान गरेको थियो। सोसाइटीलाई आर्थिक, नैतिक तथा भौतिक रुपमा निरन्तर रुपमा खटी योगदान गर्ने आजीवन सदस्यहरु खड्कजंग गुरुङ तथा संस्थापक प्रथम महिला गौरी गुरुङलाई सम्मान गरेको हो।
गुरुङ सोसाइटीले विभिन्न सांस्कृतिक कार्यक्रम गरी ल्होछार वार्षिक रुपमा मनाउँदै आएको छ।