न्युयोर्क- इजरेल र हमास समूहबीच भएको सम्झौताबमोजिम बन्धकहरू रिहा हुने भएपछि नेपालका विपिन जोशी पनि मुक्त हुने उनको परिवारजन र नेपाली अधिकारीहरूले आशा व्यक्त गरेका छन्।
तेल अभिभस्थित इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरेलका राष्ट्रपतिले पनि आफूसँगको कुराकानीका क्रममा विपिन जोशी मुक्त हुने सम्भावना रहेको बताएको उल्लेख गरे।
हालै ओहदाको प्रमाणपत्र बुझाउने क्रममा इजरेली राष्ट्रपतिसँग विपिनबारे पनि सङ्क्षिप्त कुराकानी भएको पण्डितले बीबीसीलाई बताए।
विपिनका आमाबुवाले युद्धविराम सम्झौतासँगै यथाशक्य चाँडो उनको रिहाइका निम्ति आवश्यक पहल गरिदिन सरकारलाई आग्रह गरेका छन्।
-राजदूत र परिवारको प्रतिक्रिया
राजदूत पण्डितले “पहिला पनि रिहा हुने बन्धकहरूको सूचीमा विदेशीको नाम नभए पनि हमासले मुक्त गरेको दृष्टान्त देखिएकाले विपिन जोशी मुक्त हुने सम्भावना छ” भनेर राष्ट्रपतिले जबाफ दिएको बताए।
“सूचीमा विदेशीका नाम उनीहरूले राख्ने गरेको देखिँदैन। विदेशी बन्धकमध्ये एक नेपाली र आठजना थाई नागरिक छन्। छुट्छन् भन्ने हाम्रो आशा छ। जतिसक्दो हामीले प्रयास गरेका छौँ आशा गर्नुबाहेक हामीसँग विकल्प छैन,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
विपिनका बुवा महानन्द जोशीले युद्धविराम सम्झौताले आफूहरूलाई केही हदसम्म राहत दिएको बताए।
“नेपाल सरकारलगायत सबैको सहयोगबाट छोरा रिहा हुन्छ भनी आशा जागेको छ,” बीबीसीसँग उनले भने।
अहिले पनि आफूहरू दुःखमा भए पनि चाँडोभन्दा चाँडो विपिनको फोन आओस् र ऊ फर्कोस् भन्ने अपेक्षा रहेको उनका बुवाले बताए।
“छोरा फर्किन्छ भनेर बाटो हेरेर बसिरहेका छौँ। ऊ इजरेल गएको २० दिनमै त्यस्तो घटना भयो,” उनले अगाडि थपे।
विपिनकी आमा पद्मा जोशीले हमास समूह र इजरेल सरकारबीच भएको युद्धविराम सम्झौताले खुशी लागेको प्रतिक्रिया दिइन्।
“राम्रै नतिजा आउला। छोरा सकुशल घर फर्कला। म रिहा भएँ भनेर आजभोलिमै मेसेज गर्ला भन्ने सोचेर भावुक हुन्छु,” उनले भनिन्।
हमास र इजरेलबीच भएको वार्तामा संलग्न राष्ट्रहरूलाई भनेर नेपाल सरकारले विपिनको रिहाइका लागि पहल गरिदिन उनले आग्रह गरिन्।
“युद्धविराम भए पनि फेरि युद्ध शुरू हुने हो कि भन्ने चिन्ता लागेको छ। त्यसैले भोलिपर्सिमै रिहा गर्ने माहोल सरकारले बनाइदेओस्,” आमा पद्मा जोशीले भनिन्।
– युद्धविराम कहिलेसम्म
छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिने छ। त्यसको साटो इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुने छ।
यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुने छन्। यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिने छ।
भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिने छ।
बीबीसी भेरिफाइको अध्ययन अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ।
-विपिन जोशी को हुन्?
कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन्।
उनी इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए। उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।
कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए।
जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए।
तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।
-इजरेलमा नेपालीको सङ्ख्या
नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा चार हजारभन्दा बढी नेपाली केअरगिभरको रूपमा कार्यरत छन्।
त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।
तीमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको मृत्यु भएको छ।
यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको अधिकारीहरू बताउँछन्।