२८ फाल्गुन २०८२, बिहिबार
12 March 2026, Thursday

जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश

जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न आदेश दिएका छन । अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरुआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गरेका हुन।

यो आदेशको पालनाका लागि सङ्घीय एजेन्सीहरूलाई ३० दिनको समय दिइएको छ । तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको बीबीसीले जनाएको छ ।

जन्ममा आधारित नागरिकता अमेरिकी संविधानको १४औं संशोधनको लामो समयदेखिको व्याख्या हो र ट्रम्पको नयाँ कदमलाई यो व्याख्या अन्त्य गर्ने पहलका रूपमा हेरिएको छ ।

शपथ ग्रहणलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ओभल अफिसमा धेरै आदेशमा हस्ताक्षर गरेकामध्ये एउटा यो आदेश थियो । यसमध्ये झन्डै ८० वटा आदेश पूर्वराष्ट्रपति जो बाइडेनको आदेश रद्द गर्ने सम्बन्धमा थिए ।

यसअघि आफ्नो भाषणमा ट्रम्पले सबै अवैध प्रवेश रोक्ने वाचा गर्दै लाखौं आपराधिक विदेशीहरूलाई सुपुर्दगी गर्ने कुरा पनि उल्लेख गरेका थिए ।