३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

घरमै शव राख्ने तोराजा

घरमै शव राख्ने तोराजा

आफन्त वा प्रियजनको मृत्युको खबर सबैलाई अप्रिय नै हुन्छ तर यस्तो खबरले सबै मानिसलाई समान रूपमा मर्माहतचाहिँ पार्दैन । मानिस संस्कृति र संस्कारले बाँधिएको हुन्छ । त्यसले बसालेको रीतिथिति अनुसार प्रियजनको मृत्युको शोक मनाउने र अन्त्येष्टि गर्ने तौरतरिका विश्वमा फरक तथा केही बिचित्र खालका छन् । कसैले जतिसक्दो चाँडो मुखाग्नि दिएर मृतकको अन्त्येष्टि गर्छन् त कसैले शव गाड्ने गर्छन् । विश्वमा कतिपय जनजाति यस्ता पनि छन् जसले मान्छे मरेपछि शवलाई घरमै राख्ने, केही दिनपछि शव गाड्ने, खुला ठाउँमा प्रकृतिलाई शव छाडिदिने आदि इत्यादि आआफ्नै विशेषता बोकेका संस्कृति/संस्कार छन् ।

इन्डोनेसियामा एउटा यस्तो जाति छ जसले आफन्तको शवलाई घरमै सुरक्षित राख्ने गर्छ । यो प्रथा बिचित्रको छ । तोराजा जातिले आफन्तको शवलाई घरमा राख्ने कार्य मात्र गर्दैन शवलाई नियमित रूपमा खुवाउने, जिउ सफा गरिदिने र लुगा फेरिदिने समेत गर्छ । लामो समय घरमै राखेर आफन्तको शव उनीहरूले गाड्छन् तर वर्षमा एक दिन उत्सव मनाउन शवलाई फेरि बाहिर निकाल्छन् ।

इन्डोनेसियाको पहाडी क्षेत्रमा बसोबास गर्ने तोराजाहरूले पहिले त आफन्तको शवलाई अनेक विधि अपनाएर सुरक्षित बनाउँछन् । अनि जीवितै रहेको मानेर घरमै शवको हेरचाह गर्छन् । तोराजाहरूले कस्तो विश्वास गर्छन् भने आफन्तको मृत्यु भएपछि उनको आत्मा घरमै रहन्छ । यस कारण मृतकलाई खाद्यवस्तु, लुगाफाटो, पानी तथा चुरोटसमेत दिएर मायाप्रेम दर्शाउने र स्याहार गर्छन् ।

मानिस मरेको केही दिनमै छाला र मासु सड्न सुरु नहोस् भनेर तोराजाहरूले पानीमा मिलाएर फर्मेल्डिहाइड शवमा दल्छन् । यसको गन्ध तीक्ष्ण हुन्छ । यस कारण परिवारका सदस्यले गन्ध कम गर्न शवसँगै सुकेका वनस्पति राखिदिन्छन् ।

तोराजा समुदायमा के विश्वास छ भने राम्ररी सुरक्षित राखिएको शवले सौभाग्य ल्याउँछ । यस कारण परिवारका सदस्यले शवलाई जतिसक्दो लामो समय रूप रङ बिग्रन नदिएर सुरक्षित राख्न भरमग्दुर प्रयन्त गर्छन् । तोराजाहरूले सानै उमेरदेखि नै शवलाई सुरक्षित राख्ने तौरतरिका सिक्छन् र यसलाई जीवनको एक सिकाइका रूपमा लिएर हुर्कन्छन् ।

तोराजाहरूमा हरेक दिन मृतकलाई खुवाउनुपर्ने अनिवार्य नियम छ । घरको बेग्लै कोठामा शवलाई त्यतिबेलासम्म जीवित मानिससरह सुताएर राखिन्छ जबसम्म परिवारले अन्त्येष्टिको खर्च बेहोर्न सक्दैन । यस विधिविधानमा परिवारले जतिसक्दो राँगाको बलिसमेत दिनुपर्ने हुन्छ । यस हिसाबले तोराजा जातिमा शवको अन्त्येष्टि कर्ममा कम्तीमा ५० हजार अमेरिकी डलर खर्च लाग्दछ ।

ढिलो अन्त्येष्टि गर्दा परिवारमा आइपरेको दुःखपीडा, वेदना कम गर्न सहयोग पुग्ने मान्यतासमेत तोराजाहरूको छ । नेसनल ज्योग्राफिकलाई तोराजा महिला योहाना पालाङ्दाले भनेकी थिइन्, “मेरी आमाको मृत्यु अचानक भयो । उनलाई यसरी गुमाउन हामी तयार थिएनौँ । म उनको शव चाँडै गाड्ने पक्षमा  थिइनँ ।”

शवलाई समाधिस्थ गरेपछि वा ढुङ्गाको चिहान बनाएर गाडेपछि शवसँग परिवारका सदस्य र आफन्तको त्यो अन्तिम बिदाइचाहिँ हुँदैन । ‘पुर्खाको हेरचाह’ अर्थमा बुझिने ‘माने’ प्रथा, जुन परम्परागत रूपमा अगस्तमा मनाइन्छ, अन्तर्गत चिहानबाट शवलाई पुनः बाहिर निकालेर कीरा फाल्ने, धुलोमैला हटाएर सफा गरिने र नयाँ लुगा लगाएर गाउँमा लिएर आउँछन् ।

जसै शवलाई चिहानबाट बाहिर निकालिन्छ आफन्तहरूले सर्जिकल मास्क लगाएर शवलाई सफा गर्न थाल्छन् । त्यसपछि एकछिन घाम तपाउँछन् ।

परिवारका सदस्य र साथीभाइले आफ्नो प्रिय मृतकसँग भेटघाट गर्न कैयौँ किलोमिटर यात्रा गर्छन् । त्यस अवसरमा भोजभतेरको   आनन्द उठाउँछन् । यो यस्तो समय पनि हुन्छ जब युवापुस्ताले आफ्ना पुर्खासँग भेटघाट गर्ने अवसर पाउँछन् । उनीहरूले प्रायः शवसँग तस्बिर खिच्ने गर्छन् । सबै कार्य सकेपछि तोराजाहरूले शवलाई पुनः चिहानमा गाड्छन् तथा आफन्तजनले त्यहाँ पितृलाई नयाँ घडी, चस्मा वा गरगहना अर्पण गर्छन् ।

तोराजाहरूमा यो प्रथा पुस्तान्तरण हुँदै आएको छ । यो प्रथा सुरु हुनुमा एउटा कथा त्यहाँ प्रचलित छ । धेरै वर्षपहिलेको कुरा हो पोङ रुमासेक नामका एक जना शिकारी तोराजाको पहाडी क्षेत्रमा शिकारको खोजीमा भौँतारिँदै थिए । त्यसक्रममा उनले एउटा रुखमुनि बेवारिसे मानव अवशेष देखेछन् । पोङले आफ्ना लुगामा त्यहाँ फेला परेका हड्डी बेरेर त्यहीँ गाडिदिए । यस कार्यले उनलाई जीवनभर फलिफाप र भाग्योदय भयो । भाग्यमानी शिकारीका बारेमा चारैतिर कुरा फैलिन थाल्यो । त्यसबेलादेखि तोराजाहरूमा एउटा विश्वासले घर बनायो, यदि आफ्ना पुर्खालाई सम्मान दिने र रेखदेख गर्ने हो भने आत्माले उनीहरूलाई धनधान्य दिने छन् । एक अनुमान अनुसार इसापूर्व नवौँ शताब्दीमा तोराजाहरूले यस प्रकारको मृत्यु संस्कार सुरु गरेका हुन् ।

इन्डोनेसियाको छिमेकी फिलिपिन्समा समेत विचित्रको मृत्यु संस्कार छ । बिबिसीमा उल्लेख गरिए अुनसार त्यहाँका इगोरोट समुदायमा प्राचीनकादेखि यस्तो मृत्यु संस्कार अभ्यासमा रहेको छ, जहाँ बुढापाकाले आफ्नो कफिन आफैँ तयार पार्छन् र मृतकलाई राखिएको कफिन भिरपाखामा झुन्ड्याएर राखिन्छ ।

फिलिपिन्समा ठूलो र धेरै आवादी भएको द्वीप उत्तरी लुजोन अन्तर्गत पर्ने कोर्डिलेरा सेन्ट्रल पहाडी क्षेत्रमा एक गाउँ छ सगाडा । राजधानी मनिलाबाट घुम्ती नै घुम्ती भएको बाटोमा करिब साढे आठ घण्टा गाडीयात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । जति विशिष्ट छ त्यत्ति नै डरलाग्दो प्राचीन प्रथा हेर्नका लागि जसले हिम्मत गर्छन् उनीहरूले पक्कै पनि सकसपूर्ण यात्रा गर्ने छन् ।

यो प्रथा दुई हजार वर्षदेखि प्रचलनमा रहेको विश्वास गरिन्छ । इगोरोट मानिसहरूले आफ्ना प्रियको मृत्यु भएमा हातले बनाएर सजाइएको कफिनमा शव राखेर त्यसलाई जमिनबाट धेरै माथि भिरपाखामा बाँधेर वा किला ठोकेर राख्छन् । गुरुत्वाकर्षणलाई चुनौती दिने यस चिहानले दिवङ्गत आत्मालाई आफ्ना पूर्वजको आत्माको नजिक जान सहयोग गर्ने विश्वास इगोरोटले गर्छन् ।

परम्परागत रूपमा बुढापाकाले आफ्ना लागि स्थानीय जङ्गलबाट काठ ल्याएर कफिन बनाउने प्रचलन छ । कफिनको एक छेउमा उनीहरूले आफ्नो नाम लेख्छन् । इगोरोटले मृतकको शव कफिनमा सुताइनुपहिले त्यसलाई काठको ‘मृत्यु मेच’ राखेर लहरा, पातले बाँधेर कम्बल ओढ्याएर राख्छन् । अनि शवलाई चाँडै सड्न नदिन धुवाँले सेक्ने तथा कैयौँ दिनसम्म आफन्तजनले श्रद्धाञ्जली दिने गर्छन् । विगतमा ‘मृत्यु मेच’ बाट शवलाई कफिनमा राख्ने परिवारका सदस्यले मात्र एक मिटर लामो कफिनमा शवलाई गर्भे शिशुको जसरी राख्न उसका हड्डी भाँच्नु पर्दथ्यो । जसरी गर्भमा भ्रूणको अवस्था हुन्छ र त्यस्तै अवस्थामा मृत्युपश्चात् पु¥याउने कर्मका रूपमा त्यसलाई बुझिन्थ्यो । अचेल दुई मिटरसम्म लामा कफिन बनाइने भएकाले त्यो गर्नु पर्दैन ।

शवलाई बेतका पातले बेरेर कफिनमा राख्ने गरिन्छ । भिरमा कफिन झुन्ड्याउन पुरुषले धातु किलाभिरका चट्टानमा ठोक्छन् । भिरमा कफिन झुन्ड्याइनु ठिकपहिले शोक मनाउनेले सड्दै गरेको शवबाट चुहिँदै गरेको पानी आफ्नो शरीरमा छर्कन्छन् । यसो गर्दा आफूहरूलाई सौभाग्य प्राप्त हुने उनीहरूको विश्वास छ ।

यसरी शव राखिएको कफिन भिरमा झुन्ड्याउने प्रथा फिलिपिन्समा मात्र होइन चीन र इन्डोनेसियाका केही भागमा समेत प्राचीन कालदेखि अभ्यासमा रहेको थियो तर सगाडामा मात्रै यो प्रथा चलनचल्तीमा छ ।

–युवामञ्च