२२ चैत्र २०८१, शुक्रबार
4 April 2025, Friday

ट्रम्प किन पानमा, ग्रीनल्यान्ड र क्यानडालाई चुनौती दिँदै छन्

ट्रम्प किन पानमा, ग्रीनल्यान्ड र क्यानडालाई चुनौती दिँदै छन्

न्युयोर्क- ह्वाइट हाउसमा फर्कनुभन्दा केही साताअघि मात्रै अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ‘पानमा कनाल’ र डेन्मार्कको स्वायत्त भूभाग मानिएको ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिन सैनिक परिचालनको सम्भावना अस्वीकार नगरेको बताउँदै धेरै जनालाई सजग गराएका छन्।

ट्रम्पले दुवै भूभागलाई अमेरिकाको आर्थिक सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण भनेका छन्। अमेरिकी सेनालाई यस उद्देश्यका लागि परिचालन गर्नेबारे ट्रम्पले पहिलो पटक सार्वजनिक रूपमा यस्तो स्वीकारोक्ति गरेका हुन्।

उनले क्यानडालाई अमेरिकामा “समावेश” गराउनेबारे पनि आर्थिक दबाव दिने बताएका छन्। पानमा, ग्रीनल्यान्ड, डेन्मार्क र क्यानडा सबैले यो भनाइप्रति आक्रोशसहितको प्रतिक्रिया दिएका छन्। बीसौँ शताब्दीको आरम्भमा पानमा नहर बनाउने कार्यको नेतृत्व र त्यसपछि दशकौँका वार्तापछि अमेरिकाले सन् १९९९ मा पानमाको पूर्ण नियन्त्रण पानमालाई हस्तान्तरण गरेको थियो।

अहिले ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उक्त नहर अमेरिकी नियन्त्रणमा फिर्ता लिन चाहेका छन्। “पानमा कनाल हाम्रो देशका लागि निकै महत्त्वपूर्ण छ। हामीले पानमा नहर पानमालाई दिएका थियौँ तर उनीहरूले त्यो उपहारको दुरुपयोग गरेका छन्। त्यो नहर चीनले चलाइरहेको छ र त्यसको दुरुपयोग गरेको छ। हामीले नहर चीनलाई दिएका थिएनौँ,” ट्रम्पले भनेका छन्। सरकारी तथ्याङ्कले भने ट्रम्पको यो भनाइको खण्डन गर्छ। यो नहर हुँदै ओहोरदोहोर गर्ने साधनहरूको ७२ प्रतिशत अमेरिकी ढुवानीका साधन छन्। चिनियाँ ढुवानीका साधन दोस्रोमा २२ प्रतिशत रहेको पानमा कनालसम्बन्धी निकायले जनाएको छ।

पानमामा चीनले पनि उल्लेख्य आर्थिक लगानी गरेको छ। विश्लेषकहरूका अनुसार प्रशान्त क्षेत्रमा अमेरिकी व्यापारका लागि मात्रै नभई भविष्यमा चीनसँग हुन सक्ने सैन्य द्वन्द्वमा पनि यो नहर अमेरिकाका लागि अपरिहार्य हुन सक्छ।

ट्रम्पले यसअघि अमेरिकी कार्गो पानीजहाजहरूलाई धेरै शुल्क लिएको आरोप पानमामाथि लगाएका थिए। आफ्नै लगानी रहेको सामाजिक सञ्जाल ‘ट्रुथ’मा ट्रम्पले पानमा कनालको बीचमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर राखेका छन्। पानमा सिटीमा एक पत्रकार सम्मेलनमा पानमाका विदेशमन्त्री ह्याइए मार्टिनेज-अचाले पानमा कनालको सार्वभौमसत्ताबारे कुनै वार्ता नहुने बताए।

“यो नहर नियन्त्रण गर्ने एक मात्रै हात पनामाका नागरिकसँग छ र त्यसको निरन्तरता कायमै रहन्छ,” मार्टिनेज-अचाले भने।

ग्रीनल्यान्डको विवाद के हो?

विश्वकै सबैभन्दा कम जनघनत्व भएको ग्रीनल्यान्ड डेन्मार्कको स्वायत्त भूभाग हो। आफू पहिलो पटक राष्ट्रपति भएका समयमा सन् २०१९ मा ट्रम्पले गीनल्यान्ड किन्ने योजना अघि सारेका थिए। डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले अमेरिकी सत्तामा आउन लागेका ट्रम्पको प्रशासनसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएकी छन्। तर उनले ग्रीनल्यान्ड त्यहीँका जनताको भएको बताइन्।

“ग्रीनल्यान्ड स्थानीय (ग्रीनल्यान्डिक) जनताको हो। त्यहाँका जनता आफ्नै भाषा र संस्कृतिमा गर्व गर्छन्। र यसअघि पनि भनिसकेको कुरा हो कि ग्रीनल्यान्ड बिक्रीका लागि होइन,” फ्रेडरिक्सनले भनिन्। ट्रम्पको चासो पनि अनपेक्षित किसिमको छैन किनभने यो भूभाग प्राकृतिक स्रोतमा धनी छ। डेन्मार्कको भूगर्भ निकाय र ग्रीनल्यान्डको वेबसाइटमा विश्वकै सबैभन्दा ठूलो यो द्वीपमा पाइने बहुमूल्य खनिज र ऊर्जाका स्रोतहरूका लामा सूची छन्।

त्यसमा बहुमूल्य सुन र प्ल्याटिनमदेखि लिथिअम र टाइटानिअम सहितका आठ वटा दुर्लभ धातु अनि ‘रेअर अर्थ एलमन्ट’ सूचीकृत छन्। त्यस्तै कोइला र युरेनिअमसहित ऊर्जा उत्पादनमा प्रयोग हुने तत्त्वहरू र हिरा र माणिक जस्ता बहुमूल्य पत्थरहरू यहाँ पाइन्छन्। यहाँ तेल र ग्यासको ठूलो भण्डार भएको पनि दाबी गरिएको छ। तर ती खानीहरू पहिचान हुन बाँकी छन्।

ब्याटरीको उत्पादनका लागि प्रयोग हुने दुर्लभ धातुहरू पाइने भएका कारण पनि ग्रीनल्यान्डलाई मूल्यवान् मानिएको छ। विश्व ब्याङ्कले विश्वको माग पूरा गर्न यस्ता खनिजहरूको उत्खनन सन् २०२५सम्म पाँच गुणाले बढाउनुपर्ने प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कका अनुसार त्यो अमेरिकाका लागि मात्रै नभएर चीनका लागि पनि आवश्यक पर्न सक्छ।

रुसले पनि यो क्षेत्रलाई रणनीतिक महत्त्वका दृष्टिले हेर्ने गर्छ। त्यसको कारण यो रुस र अमेरिकाको बीचमा अवस्थित हुनु पनि हो। अमेरिकाले यसअघिबाटै यो द्वीपमा बलिस्टिक क्षेप्यास्त्रको पूर्वचेतावनी दिने प्रणालीसहित आफ्नो सैन्य अखडा राखेको छ। ग्रीनल्यान्डमा सरकारको नेतृत्वमा अहिले स्वतन्त्रता पक्षधर प्रधानमन्त्री म्यूत बी एग्दे छन्। उनले उक्त टापु बिक्रीका लागि नभएको स्पष्ट गरिसकेका छन्। आगामी एप्रिलमा हुने संसदीय निर्वाचनसँगै यो द्वीपलाई स्वतन्त्र बनाउनेबारे जनमतसङ्ग्रह पनि हुन सक्ने उनले सङ्केत गरेका छन्।

क्यानडाबारे ट्रम्पले के भने

ट्रम्पले पछिल्ला साताहरूमा अमेरिकाको सबैभन्दा ठूलो छिमेकी क्यानडालाई पनि चिढ्याउने अभिव्यक्ति दिएका छन्। उनले क्यानडासँगको सीमा ‘कृत्रिम’ रहेको र उक्त देश अमेरिकाको ‘५१औँ राज्य’ हुन सक्ने जस्ता अभिव्यक्ति दिएका छन्। क्यानडाको सुरक्षाका लागि अर्बौँ डलर खर्च भइरहेको भन्दै ट्रम्पले वर्तमान अमेरिकी सरकारको आलोचना गरेका छन्। उनले क्यानडाबाट कार, काठका सामान र दुग्ध पदार्थको आयातबारे पनि समस्या रहेको बताए।

मेक्सिकोजस्तै क्यानडाबाट अमेरिकामा आयात हुने सामग्रीमा पनि आफ्नो प्रशासनमा २५ प्रतिशत कर लगाउने घोषणा ट्रम्पले गरेका छन्। लामो पत्रकार सम्मेलन गर्दै ट्रम्पले मेक्सिको र क्यानडाको सीमाबाट अमेरिकामा लागुऔषध आयात भइरहेको दाबी गरे। यद्यपि अमेरिकी तथ्याङ्क अनुसार क्यानडासँगको अमेरिकी सीमाबाट जफत हुने लागुऔषध देशको दक्षिणी सीमाबाट बरामद हुनेभन्दा उल्लेख्य मात्रामा न्यून छ।

क्यानडाले पनि सीमा क्षेत्रमा उच्च सुरक्षा बढाउन नयाँ नीतिहरू कार्यान्वयन गरिने जनाएको छ। उक्त देशले अघि सारेका योजनामा सीमा क्षेत्रमा निगरानी बढाउने र संयुक्त फौजहरूले सङ्गठित अपराध हुने परम्परागत नाकाहरूमा कारबाही गर्नेलगायत छन्। हालै राजीनामाको घोषणा गरेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आर्थिक शक्ति लगाएर क्यानडालाई अमेरिकामा मिलाउने ट्रम्पको अभिव्यक्तिको प्रतिवाद गरेका छन्। उनले दुई देश एक हुने कुनै सम्भावना नरहेको बताएका छन्।

प्रचार कि वास्तविकता
अमेरिकाका भूतपूर्व राष्ट्रिय सुरक्षा उपसल्लाहकार जेम्स जेफ्रीले ट्रम्पले आफ्ना अन्तर्राष्ट्रिय सहयोगी र देशभित्रका समर्थकहरूका लागि सङ्केतहरू दिइरहेको बताएका छन्। उनका अनुसार आफ्ना युरोपेली सहयोगीहरूले अन्तर्राष्ट्रिय सुरक्षाको रक्षाका लागि पर्याप्त काम नगरेको भन्दै अमेरिकीहरूमाझ निराशा छ।

यद्यपि कुनै सैन्य हस्तक्षेप हुने सम्भावना नरहेको जेफ्री बताउँछन्। “हामी ग्रीनल्यान्डमा परेड खेल्न जाँदै छैनौँ, क्यानडामा पनि परेड खेल्दैनौँ र पानमा कनाल पनि कब्जा गर्दैनौँ। तर यो कुराले कस्तो उथलपुथल ल्याउँछ भन्ने चाहीँ अर्को प्रश्न हो,” उनी भन्छन्। “अन्तर्राष्ट्रिय सुव्यवस्थामा ट्रम्प चुनौती होइनन्। त्यो चुनौती रुस र चीन हुन्,” जेफ्री भन्छन्। लन्डनस्थित ‘द इन्डिपेन्डेन्ट’का राजनीतिक सम्पादक डेभिड म्याडक्स ट्रम्पलाई गम्भीर रूपमा लिइनुपर्ने बताउँछन्।

“अहिले ट्रम्प साम्राज्यवादीजस्तो देखिएका छन्। उनी वास्तवमै विश्वमा अमेरिकी पाइला फैलाउन चाहन्छन्। यो गम्भीर चेतावनी हो,” म्याडक्सले बीबीसीसँग भने। “हामी ट्रम्पको पहिलो कार्यकाल भन्दा दोस्रो कार्यकाल निकै भिन्न हुने देख्दैछौँ। यसले बाँकी विश्वमा अस्थिरता ल्याउन सक्छ,” उनले भने।

बीबीसी