पार्कर राजा दिनेश सुनारले २१ विश्व कीर्तिमान बनाए, मानार्थ सदस्यता प्रदान गरियो
- १४ माघ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- नेपालको खोटाङस्थित हेलेसीका प्रख्यात पार्कर खेलाडी दिनेश सुनारलाई अल्पाइन खेलकुद संघले मानार्थ सदस्यता प्रदान गरेको छ। यो सम्मान पार्कर र जिम्नास्टिक्सका क्षेत्रमा उनको अद्वितीय उपलब्धिहरूको प्रमाण हो।
दिनेशले हालसम्म २१ गिनिज वर्ल्ड रेकर्डहरू आफ्नो नाममा राखेका छन्। उनको पछिल्लो उपलब्धि ३० सेकेन्डमा “सबैभन्दा धेरै बटरफ्लाइ ट्विस्ट” गर्ने विश्व कीर्तिमान हो, जसमा उनले १४ ट्विस्ट पूरा गरेका थिए। यो उपलब्धिले दिनेशको अद्वितीय शारीरिक क्षमता र पार्कर खेलमा उनको नेतृत्वलाई अझ बलियो बनाएको छ।
मानार्थ सदस्यताको सम्मान
दिनेशलाई अल्पाइन खेलकुद संघको मानार्थ सदस्यता प्रदान गरिएको छ, जसले पार्कर र जिम्नास्टिक्सका लागि उनको योगदानलाई सम्मान गर्दछ। संघका अध्यक्ष नगावाङ निन्मा शेर्पा र महासचिव सञ्जोक आचार्यले दिनेशलाई यो सम्मान प्रदान गर्दै नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध प्रवर्द्धन गर्नमा उनको भूमिकाकाे उच्च मूल्याङ्कन गरे।
दिनेशको जीवन यात्रा अनगिन्ती युवा खेलाडीहरूका लागि प्रेरणादायी छ। उनले आफ्नो अथक मेहनत, अटल समर्पण, र जोशका साथ नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याएका छन्। “पार्कर राजा” उपनामले चिनिने दिनेश नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चित व्यक्तित्व बनेका छन्।
मानार्थ सदस्यका रूपमा दिनेशले नेपाल र अन्तर्राष्ट्रिय स्तरमा पार्कर खेलको भविष्य निर्माण र यसलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।