७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

इजरेल र हमासले बन्दी आदानप्रदान गर्दा विपिन जोशी छुट्ने सम्भावना कति

इजरेल र हमासले बन्दी आदानप्रदान गर्दा विपिन जोशी छुट्ने सम्भावना कति

न्युयोर्क- इजरेल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीवार बन्दी साटासाटका क्रममा हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशी पनि छुट्न सक्ने सम्भावनाबारे विभिन्न अनुमान भइरहेको छ।

तर इजरेलस्थित नेपाली राजदूतले जोशीको पछिल्लो अवस्था तथा उनी कहिले छुट्लान् भन्नेबारे “नयाँ जानकारी प्राप्त हुन नसकेको” बीबीसीलाई बताएका छन्। इजरेली अधिकारीहरूले “विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनू” भनेको राजदूत धनप्रसाद पण्डितको भनाइ छ।हमासले तीन इजरेली बन्धकहरूलाई बिहीवार मुक्त गरेको छ। उक्त लडाकु समूहले आईसीआरसीलाई ती बन्धक हस्तान्तरण गरेको हो।

यी तीन जना मुक्त भइसकेपछि अझै १५ जना हमासको नियन्त्रणमा बाँकी छन्। आगामी शनिवार अर्को खेपमा बन्धकहरू मुक्त हुने तालिका छ। हमासले बिहीवार नै पाँच थाई नागरिकलाई पनि मुक्त गर्ने भएको छ। विदेशी नागरिको मुक्ति यो इजरेल-हमास सम्झौतामा परेको थिएन। उनीहरूको मुक्तिका लागि बिहीवार बिहान छुट्टै सहमति भएको थियो।

‘जुनसुकै बेला छुट्न सक्छन्’

राजदूत पण्डितका अनुसार बुधवार राति उनले इजरेली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए। त्यस क्रममा इजरेली अधिकारीहरूले बिहीवार तीन इजरेली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताए।

“त्यसो भयो भने एक थाई र हाम्रा विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुन्छ। आज विपिन जोशी छुटेनन् भने शनिवार हुने अर्को आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा छ,” पण्डितले बिहीवार दिउँसो भने।

पण्डितले इजरेली अधिकारीहरूले हमासले छाड्ने बन्धकहरूको सूचीमा विदेशी नागरिकको नाम समावेश नहुने दोहोर्‍याएको जानकारी पनि दिए। तर आफूहरूलाई इजरेली अधिकारीहरूले “तयारी अवस्थामा रहन” भनेको पण्डितले बताए। “बन्दी आदानप्रदानको सूचीमा नपर्ने भएकाले ‘विदेशी कुनै पनि बेला छुट्न सक्छन्। छुटे भने तपाईँलाई पहिलो जानकारी गराउँछौँ’ भनेर अधिकारीहरूले मलाई भनेका छन्।”

“बुधवार राति पनि मैले यहाँका प्रधानमन्त्रीज्यूको बन्दीहरूसम्बन्धी हेर्ने अधिकारीलाई सम्पर्क गरेको थिएँ। उहाँले ‘अहिलेसम्म हामीसँग कुनै पनि अप्डेट छैन’ भन्नुभयो। त्यसैले विपिन कहिले छुट्छन् भन्ने आधिकारिक जानकारी अहिले मसँग छैन।”

अन्य नियोगमार्फत् पनि ‘कुराकानी जारी’

नेपालको परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नियोगका अधिकारीहरूले जनाएअनुसार जोशीलाई हमासको कब्जाबाट मुक्त गर्नका लागि कतार तथा इजिप्टका अधिकारीहरूसँग पुन: अनुरोध गरिएको छ।

तर सबैले “कोसिस गर्छौँ” भने पनि सन् २०२३ को नोभेम्बरयता जोशीको अवस्था के छ भन्नेबारे हालसम्म यकिन जानकारी प्राप्त हुन नसकेको अधिकारीहरू बताउँछन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले गएका जोशीलाई मुक्त गर्नका लागि पहल गरिदिन साताहरूमा इजरेल, इजिप्ट तथा कतारका विदेशमन्त्रीहरूसँग टेलिफोनमा कुराकानी गरेकी थिइन्। इजरेल र हमासबीच युद्धविराम सम्झौता गराउनमा कतार तथा इजिप्टले मध्यस्थकर्ताको भूमिका खेलेका थिए।

विपिन जोशीको पछिल्लो अवस्था

विपिन जोशी हाल कुन अवस्थामा छन् भन्ने यकिन जानकारी आफूसँग नभएको इजरेलस्थित राजदूत पण्डितले बताए। सन् २०२३ नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो।

उक्त भिडिओमा देखिएका व्यक्ति आफ्ना भाइ नै रहेको विपिन जोशीका दाजु किशोर जोशीले त्यसै बेला बीबीसी न्यूज नेपालीसँग बताएका थिए। अहिलेको अवस्थाबारे इजरेली पक्षले पनि नयाँ जानकारी प्राप्त नभएको बताउने गरेको इजरेलस्थित नेपाली दूतावासको भनाइ छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी र अन्य देशका नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो। उक्त घटनामा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए। तीमध्ये नेपालका विपिन जोशी पनि रहेको बताइँदै आएको छ।

यही ज्यानुअरी १९ देखि सुरु भएको पछिल्लो युद्धविराम सम्झौताअन्तर्गत बिहीवार छुट्नेसहित १५ जना इजरेली बन्दी मुक्त हुने छन्। बाँकी बन्धकमध्ये कति जना जीवित छन् भन्ने हमासले खुलाएको छैन।

कति बन्धक मुक्त हुन बाँकी

युद्धविराम सम्झौता तीन विभिन्न चरणमा अघि बढ्ने बताइएको छ। अहिले प्रथम चरण नै चलिरहेको छ जुन ४२ दिनसम्म चल्ने छ। सम्झौता १९ ज्यानुअरीबाट आरम्भ भएको हो।

इजरेल-हमास युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३३ इजरेली बन्धकहरू मुक्त हुनुपर्ने र त्यसको बदलमा १,९०० प्यालेस्टिनी कैदीहरू रिहा हुनुपर्ने थियो। तेत्तीस जनामध्ये हमासले बिहीवार अगम बर्जर, अर्बेल यहुद र गाडी मोजेजलाई बिहीवार नै मुक्त गर्ने छ। बर्जर दक्षिणी इजरेल फर्किसकेकी छन् र उनको आफ्नो परिवारसँग पुनर्मिलन भएको छ।

यसअघि करिना आरियेभ, ड्यानिएला गिल्बोआ, नाम लेभी र लिरी अल्बागलाई गत शनिवार र रोमी गोनेन, डोरोन स्टाइन्ब्रेचर अनि गत सप्ताहान्तमा एमिली डामारी मुक्त भएका थिए। मुक्त हुनेको सूचीमा परेकामध्ये आठ जनाको मृत्यु भइसकेको इजरेल सरकारले यसै हप्ता पुष्टि गरेको थियो। हमासले नोभेम्बर २०२३ मा १९ थाई नागरिकसहित २० विदेशी बन्धकलाई मुक्त गरेको थियो।