७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

साउदी अरबमा सडक दुर्घटना: तीन नेपालीको मुत्यृ

साउदी अरबमा  सडक दुर्घटना: तीन नेपालीको मुत्यृ

न्युयोर्क- साउदी अरबमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीसहित १५ जनाको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको छ । दुर्घटनामा भारतका ९ र घानाका ३ नागरिकको समेत ज्यान गएको छ ।

साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको छ । जिजानको बाइस अस्पतालमा उनको उपचार भइरहेको छ ।