७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

सिड्नीमा नेपाल झल्किने तस्बिर प्रदर्शनी

सिड्नीमा नेपाल झल्किने तस्बिर प्रदर्शनी

। अस्ट्रेलियाका सिड्नीमा भरतबन्धु थापाका नेपाल झल्किने तस्बिर प्रदर्शनी गरिएको छ । अस्ट्रेलिया नेपाल न्यूजको ११ औं वार्षिक उत्सवका अवसरमा मनघरी फाउण्डेशनले सातै प्रदेश समेटिने गरी नेपाल झल्किने तस्बिर प्रदर्शनी गरेको हो ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ वटा तस्बिर राखिएका थिए ।

प्रदर्शनी अवलोकन गर्दै राजदूत यादवले विदेशमा रहेका सबैले नेपालको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए। राजदूत यादवले विदेशमा रहेका नेपालीहरूले समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्नुपर्नेमा पनि जोड दिए। नेपालको विकासमा लागि पर्यटन प्रवर्द्धनमा जोड दिन यस्तो तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

एन एस डब्लुका वाणिज्यदूत सन्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफरप्रति आभार व्यक्त गरे। उनले मेरो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने बताए।

राजदूत र वाणिज्यदूतलाई भरतबन्धु थापाले नेपाल झल्किने किताबसमेत प्रदान गरे ।