७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री राणा र इजिप्टका विदेशमन्त्रीबीच फोनवार्ता

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री राणा र इजिप्टका विदेशमन्त्रीबीच फोनवार्ता

न्युयोर्क: परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन्। परराष्ट्रमन्त्री राणाले वार्तामा हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरेकी हुन्।

हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी थिइन्।

त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन जनाइएको छ। इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेका छन् ।

हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । मन्त्री राणाले अघिल्लो हप्तामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी सो अपिल गरेकी थिइन्।

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहहेकी छन्।

केही हप्ताअघि मन्त्री राणाले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा सो आग्रह गरेका थिए।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छन्।