म्यान्मारबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फर्काउने पहल के हुँदै छ?
- ०३ फाल्गुन २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- म्यान्मारका विभिन्न ‘स्क्याम सेन्टर’बाट उद्धार गरिएका २० देशका २५० जनाभन्दा बढी कामदारमध्ये सात जना नेपाली नागरिक रहेको बैङ्ककस्थित नेपाली दूतावासले जनाएको छ।
थाईल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उद्धार गरिएका नेपालीहरू सकुशल रहेको बीबीसी नेपालीलाई जानकारी दिए।
नेपाली दूतावासका अनुसार थाईल्यान्डको सीमा नजिक पर्ने म्यान्मारका एकान्त क्षेत्रहरूमा ‘स्क्याम सेन्टर’ मा काम गर्न विभिन्न देशको बाटो हुँदै नेपालीहरू पुग्ने गरेका छन्।
म्यान्मारको एउटा स्थानीय सशस्त्र विद्रोही समूहले त्यसरी पुगेका कैयौँ देशका नागरिकलाई बिहीवार मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको थियो।
मुक्त हुनेहरूमा नेपालसहित भारत, बाङ्ग्लादेश, श्रीलङ्का पाकिस्तान सहित दक्षिण एशियाली देश र अफ्रिकी देशका नागरिक छन्। तीमध्ये २२१ पुरुष र ३९ महिला रहेको बताइएको छ।
नेपाली दूतावासले परिवार, आफन्त र साथीहरूले उद्धारका लागि दिएको जानकारीका आधारमा १३ जनाको उद्धार गरिदिन थाई सरकारलाई आग्रह गरेको थियो।
“हामीले दिएको सूचिमा भए जति सबै जना भेटाइसकिएको छैन,” राजदूत वलीले भने।
“स्क्यामिङमा जानेहरू कुन बाटो र माध्यमबाट जानुहुन्छ भन्ने थाहा नहुने भएकाले त्यहाँ रहेका १३ जना भन्दा बढी पनि हुनसक्छ वा त्यसमध्ये कोही अन्यत्रै हिँडेको पनि हुनसक्छ।”