३१ चैत्र २०८१, आइतवार
13 April 2025, Sunday

संसारकै चाैथाे प्रदूषित सहरको सूचीमा काठमाडौं सहर

संसारकै चाैथाे प्रदूषित  सहरको सूचीमा काठमाडौं सहर

काठमाडौं : काठमाडौं संसारकै चौथो प्रदूषित सहर भएको छ। आई क्यू एयरको एयर क्वालिटी इन्डेक्स (ए क्यू आई) वायुको गुणस्तर सूचकांकमा काठमाडौं चौथो स्थानमा छ। काठमाडौंमा एक्यू आई १८१ पुगेको छ, जुन अस्वस्थ मानिन्छ। यस्तैगरी, मानव स्वास्थ्यमा सबैभन्दा बढी असर गर्ने वायुमण्डलमा पाइने प्रदूषणका सूक्ष्म कण अर्थात् फाइन पार्टिकुलेट म्याटर (पिएम २.५) ९८.५ माइक्रो ग्राम प्रतिघनमिटर रहेको छ।

विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रतिघन मिटर हुनुपर्ने बताएको छ। पि एम २.५ का कारण वर्षेनी संसार भरमा लाखौँ मानिसको ज्यान जाने गरेको छ। पि एम २.५ सजिलै फोक्सोमा पुग्ने र रक्त प्रवाहमा मिसिन सक्ने भएकाले यसले श्वास प्रश्वास तथा हृदयसम्बन्धी र अन्य विभिन्न दीर्घ रोग उत्पन्न गराउने जानकारहरू बताउँछन्।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका अनुसार वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) ०–५० लाई मात्रै राम्रो  मानिन्छ । एक्यूआई ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ।

संसार भरमा सबैभन्दा प्रदूषित सहर भारतको नयाँ दिल्ली बनेको छ। दिल्लीको एक्यूआई १९१ रहेको छ। दिल्लीमा पि एम २.५ को मात्रा ११२ माइक्रो ग्राम प्रतिघनमिटर पुगेको छ।

पाकिस्तानको लाहोर (१८३ एक्यूआई) दोस्रो प्रदूषित सहर बनेको छ भने तेस्रो प्रदूषित सहर इजिप्टको कायरो (१८२ एम्क्यूआई) रहेको छ। पाँचौँ प्रदूषित सहर बंगलादेशको ढाकाको एक्युआई १७२ पुगेको छ।

वायु प्रदूषणको असर

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओका अनुसार संसारका लगभग ९९ प्रतिशत जनसंख्या वायु प्रदूषणको सिकार हुने गरेका छन्। वायु प्रदूषण अल्पायुमै हुने मृत्युको दोस्रो सबैभन्दा ठूलो कारण हो। यसका कारण हरेक वर्ष ७० लाख मानिसको अकालमा ज्यान गुमाउने गरेका डब्ल्यु एच ओको अनुमान छ।

नेपालसहित कैयौँ एसियाली मुलुकमा वायु प्रदूषण एउटा गम्भीर स्वास्थ्य समस्या बनिसकेको छ। मान्छेहरू प्रदूषित हावामा स्वास लिइरहेका छन्।
विभिन्न प्रकारका वस्तुहरू जलाउँदा निस्कने धुवाँले हावालाई सबैभन्दा बढी प्रदूषित गर्ने वातावरणविद्हरू बताउँछन्। कोइला बाल्दा, विद्युत्, सवारीसाधन, प्राकृतिक ग्यास वा डिजेल तथा पेट्रोल जस्ता इन्धनबाट पनि वायु प्रदूषण बढ्ने गर्छ।

इन्धन बाल्दा उत्पन्न हुने पिएम २.५ कण फोक्सोसम्म पुग्ने गर्दछ। यस्तैगरी, कृषिजन्य अवशेषहरू जलाउँदा, यातायात, उत्खनन लगायतका गतिविधिबाट उत्पन्न हुने पिएम १० कणले रुघाखोकी जस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ। वायु प्रदूषणका कारण हुने रोगको सबैभन्दा धेरै भार दक्षिण एसिया र अफ्रिकी देशहरूमा पर्ने गरेको छ।

थोरै समय प्रदूषित हावामा स्वास लिँदा दम हुने, ह्रदयाघातको खतरा धेरै हुन्छ। यस्तैगरी, लामो समय प्रदूषित हावामा स्वास फेर्दा मुटु र फोक्सेसँग सम्बन्धित गम्भीर समस्या हुनसक्ने र ज्यान समेत जानसक्ने चिकित्सकहरूको भनाई छ ।

बालबालिकाका लागि काम गर्ने संगठन युनिसेफका अनुसार, पूर्वी एसिया र प्रशान्त क्षेत्रका देशहरूमा ५० करोडभन्दा बढी बालबालिका प्रदूषित हावामा स्वास फेरिरहेका छन्। यसका अलावा हरेक दिन औसत पाँच वर्षन्दा कम उमेरका १०० बालबालिकाको मृत्यु हुने गरेको छ, जसको सम्बन्ध प्रदूषणबाट हुन्छ।
वायु प्रदूषण भएको बेला घरमै रहने प्रयास गर्न विज्ञ सुझाव दिन्छन्। बाहिर निस्कनु परेमा अनिवार्य रूपमा मास्क लगाउन जरुरी छ।

हिउँदमा किन बढ्छ प्रदूषण?

वायु प्रदूषण धेरै हदसम्म मौसममा पनि भरपर्ने हुन्छ। विज्ञहरूका अनुसार, हरेक वर्ष हिउँदमा कति वर्षा भयो त्यसले समेत वायु प्रदूषण कति हुन्छ? भन्ने कुरामा असर पारिरहेको हुन्छ।

जनवरी र फेब्रुअरीमा प्रदूषण बढी हुने गरेको छ। यसको अर्को कारण तापक्रम न्यून हुनु पनि हो। तापक्रम कम हुँदा जमिन सँगैको हावा फैलिएर धेरै माथि जान सक्दैन, जसले गर्दा जति पनि धुलोका कणहरू उत्सर्जन भएका छन्, ती सबै जमिन नजिक थिग्रिएर बसिरहन्छन्।

वातावरणविद् भूषण तुलाधर सामान्यतया जाडो मौसममा प्रदूषण बढ्ने गरेको भन्दै सुक्खा हुँदा धुलो उड्ने र डढेलोका घटनाले वायु प्रदूषण गराउने बताउँछन्।
‘पानी नपर्दा प्राकृतिक रूपमा फ्लस हुन सकेन,  डढेलोको सम्भावना बढाइदिएको छ, धूलो उडेर हावामा मिसिएको छ’ वातावरणविद तुलाधरले भने।

विज्ञका अनुसार, तापक्रम न्यून हुँदा वायुमण्डलमा विशेष अवस्था सिर्जना हुनसक्छ जसलाई इन्भर्सन इफेक्ट पनि भनिन्छ। इन्भर्सनका समयमा जमिन नजिकै रहेको चिसो हावाको तहलाई तातो हावाको तहले ढाकेर ढकनीको रूपमा काम गरिराखेको हुन्छ, जसले उत्सर्जन भएको प्रदूषण  जमिन नजिकै जम्मा भएर रहन्छ। यसै कारण इन्भर्सनको समयमा वायु प्रदूषण पनि बढी हुन्छ।