नेपाल प्रहरी पुग्यो ओडिसा, घटना र आन्दोलित विद्यार्थीको अवस्था बुझ्दै
- ०६ फाल्गुन २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- प्रकृति लम्सालको मृत्युबारे अनुसन्धान गर्न नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी आज ओडिसा पुगेका छन् ।
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थिति पछि नेपाली विद्यार्थीको अवस्था बुझ्न तथा त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी आज बिहानै त्यहाँ पुगेका हुन् ।
प्रहरी घटनास्थल पुगेको जानकारी दिँदै परराष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु । यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ ।’
यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको पनि उनले जनाएकी छन् ।