२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : ब्राजिलियन राष्ट्रपति लुला

ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : ब्राजिलियन राष्ट्रपति लुला

न्युयोर्क- ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उनलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेका छन् ।

‘दोस्रो विश्वयुद्ध पछिको लोकतन्त्र पछिल्लो ७० वर्षको सबैभन्दा राम्रो शासनको उदाहरण बनेको छ’, स्थानीय रेडियो स्टेशनसँगको अन्तर्वार्तामा लुलाले भने, ‘तर (ट्रम्प) ले जसरी काम गर्नुहुन्छ, उहाँ विश्वको सम्राट बन्ने कोशिश गरिरहनुभएको छ, उहाँ सबै देश र सबै सार्वजनिक नीतिहरूमा हस्तक्षेप गर्ने कोशिश गरिरहनुभएको छ ।’

लुलाको टिप्पणी ट्रम्पले युक्रेनका नेता भोलोदिमर जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै आक्रोश व्यक्त गरेपछि र उनको देशमाथि रुसको आक्रमणको दोष उनमाथि थोपरेपछि आएको हो । वासिङ्टनले युद्ध अन्त्य गर्ने प्रयासमा रुससँग प्रत्यक्ष वार्ता गरेर किएभलाई चिढ्याएको छ ।

लुलाले विशेष उदाहरणहरू दिएनन् तर ट्रम्पलाई ‘प्रत्येक देशको सार्वभौमिकताको सम्मान गरिनुपर्छ भन्ने महसुस गर्न’ आग्रह गरे । जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पसँग कुरा नगरेका लुलाले संयुक्त राज्य अमेरिका ब्राजिलका लागि महत्त्वपूर्ण व्यावसायिक साझेदार भएको दोहोर्‍याए र ‘मित्रता’ को ठूलो सङ्केतका लागि आग्रह गरे ।

‘हामी यो संरक्षणवाद रोक्न चाहन्छौँ’, उनले स्टिलजस्ता ब्राजिलका उत्पादनहरूमा वासिङ्टनले घोषणा गरेको करलाई उल्लेख गर्दै भने ।