४ बैशाख २०८२, बिहिबार
17 April 2025, Thursday

अमेरिकासँगको तनावबीच दक्षिण अफ्रिकामा जी–२० विदेशमन्त्रीहरूको बैठक सुरु हुँदै

अमेरिकासँगको तनावबीच दक्षिण अफ्रिकामा जी–२० विदेशमन्त्रीहरूको बैठक सुरु हुँदै

न्युयोर्क- जी–२० देशका विदेशमन्त्रीहरूको बैठक बिहीबार जोहानेसबर्गमा सुरु हुनेछ तर दक्षिण अफ्रिका र अमेरिकाबीचको कूटनीतिक तनावका बीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो उपस्थित हुने छैनन् ।

रूसी विदेशमन्त्री सेर्गेई लाभरोभ र चिनियाँ विदेशमन्त्री वाङ यी लगायत कूटनीतिज्ञहरू यस भेलामा उपस्थित हुने अपेक्षा गरिएको छ भने अमेरिकाको प्रतिनिधित्व दक्षिण अफ्रिकाका लागि कार्यवाहक राजदूत डाना ब्राउनले गर्नेछन ।

जी–२० को हिस्सा रहेका युरोपेली सङ्घ (इयु), संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घ सहभागी हुनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको एक कार्यकारी आदेशपछि रुबियोले बैठकमा जान अस्वीकार गरेका हुन । उक्त आदेशले देशको श्वेत अल्पसङ्ख्यक विरुद्ध भेदभाव हुने गरी कानून बनाएको भन्दै दक्षिण अफ्रिकालाई विदेशी सहायता रोक्ने निर्णय गरेको थियो । अमेरिका अन्तर्राष्ट्रिय न्यायालयमा इजरायल विरुद्ध दक्षिण अफ्रिकाको मुद्दासँग पनि असन्तुष्ट छ ।

दक्षिण अफ्रिकाका विदेशमन्त्री रोनाल्ड लामोलाले रुबियोको निर्णय ‘दक्षिण अफ्रिकाको जी–२० को पूर्ण बहिष्कार नभएको’ बताएका छन। उनले अमेरिकालाई यस हप्ता जोहानेसबर्गमा ‘कुनै न कुनै रूप वा आकारमा’ प्रतिनिधित्व गरिने बताए।

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले पनि उहाँ अर्को हप्ता दक्षिण अफ्रिकामा हुने जी–२० वित्तमन्त्रीहरूको बैठकमा उपस्थित नहुने स्पष्ट गरेका छन । बेसेन्टले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा वासिङ्टनमा दायित्वहरूका कारण उनले कार्यक्रममा भाग लिन नसक्ने बताएका छन । उनको स्थानमा वित्त मन्त्रालयका एक वरिष्ठ अधिकारी उपस्थित हुनेछन् ।

विश्लेषकहरूका अनुसार रुबियो र बेसेन्टको अनुपस्थितिले अमेरिका जी–२० बाट पछि हट्दै गरेको सङ्केत गर्छ र सम्बन्धहरू कति तनावपूर्ण छन् भन्ने देखाउँछ । “मलाई लाग्छ यदि हामी वास्तवमै अमेरिकी प्रशासनले के सन्देश दिन खोजिरहेको छ भन्ने जान्न चाहन्छौँ भने तपाईँले वित्तमन्त्री अर्को हप्ता आउनेछन् वा छैनन् भनेर जान्नुपर्छ, यदि उनले पनि आउन छनोट गरेनन् भने, यो एक गम्भीर सङ्केत हो”, राजनीतिक विश्लेषक डेनियल ब्राडलोले भने।

राष्ट्रपति सिरिल रामाफोसाले ‘एकता, समानता र दिगोपना’ विषयवस्तु अन्तर्गत आधिकारिक रूपमा उद्घाटन गरी सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यसलाई रुबियोले विविधता, समानता र समावेशी ढाँचा भनेका छन – जसको नयाँ ट्रम्प प्रशासनले स्पष्ट रूपमा विरोध गर्दछ । दक्षिण अफ्रिकाले गत वर्ष डिसेम्बरमा शुरु भएको जी–२० अध्यक्षताको हिस्साका रूपमा यस वर्ष १३० भन्दा बढी कार्यदल बैठक र २३ मन्त्रीस्तरीय बैठकहरू आयोजना गर्नेछ ।

दक्षिण अफ्रिकाको कार्यकालपछि अमेरिकाले सन् २०२६ मा जी–२० को अध्यक्षता ग्रहण गर्ने अपेक्षा गरिएको छ ।