२४ चैत्र २०८१, आइतवार
6 April 2025, Sunday

नेपाली नयाँ वर्षमा न्यूयोर्कमा भब्य च्यारिटी शो हुँदै, चर्चित कलाकारहरुको दमदार प्रस्तुति रहने

नेपाली नयाँ वर्षमा न्यूयोर्कमा भब्य च्यारिटी शो हुँदै, चर्चित कलाकारहरुको दमदार प्रस्तुति रहने

न्युयोर्क- धादिङ जिल्लाका गरिब, जेहेन्दार, तथा प्राकृतिक प्रकोपका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले अमेरिकामा भव्य च्यारिटी शो आयोजना गरिने भएको छ। धादिङ नेपाली समाज अमेरिकाको पहलमा अप्रिल ५ तारिखका दिन न्यूयोर्क शहरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको हो।

धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष टक बहादुर रुवालीका अनुसार, यो कार्यक्रमबाट संकलित रकम जिल्लाभित्र शिक्षा अभावमा परेका बालबालिकाहरूको भविष्य उज्यालो बनाउने उद्देश्यले अक्षय कोष स्थापनामा गरिएकाे हाे। हाल समाजसँग ५०–६० लाख रुपैयाँ संचित रहेको छ भने बाँकी रकम एनआरएनए अमेरिकाको सहयोग र च्यारिटी शोबाट संकलन गरिनेछ।

यो अक्षय कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, शिक्षा विकास समन्वय इकाई, तथा विभिन्न स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष संरक्षक रहनेछन्। आर्थिक कठिनाइका कारण शिक्षा प्राप्त गर्न नसकेका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने यो अभियानमा सबै नेपालीलाई हातेमालो गर्न अध्यक्ष रुवालीले आग्रह गरेका छन।

कार्यक्रमलाई भव्य बनाउन लोकदोहोरी तथा आधुनिक संगीतका ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।चर्चित लोकदोहोरी कलाकार भगवान भण्डारी ,किरण गजमेर, गायिका तथा मोडल शान्ति भण्डारी, लोकदोहोरी गायक श्रीराम पौडेल, गायक राजन ठकुरी, लोकदोहोरी गायिका सिर्जना बिराही थापा, गायक तथा संगीतकार कमल सौराग, गायक अभय ढुंगेल, गायिका कल्पना दाहाललगायतका कलाकारहरूको धमाकेदार प्रस्तुति रहने छ।

अमेरिकामा रहेका धादिङवासी तथा सम्पूर्ण नेपाली समुदायलाई आफ्नो जन्मभूमिको शिक्षाको स्तर सुधार्न योगदान गर्न आह्वान गरिएको छ। विदेशमा रहेर पनि मातृभूमिप्रति समर्पित रहने नेपालीहरूको यो प्रयास प्रशंसनीय मानिएको छ।

अप्रिल ५ मा आयोजना हुने कार्यक्रममा न्यूयोर्क स्थित सबै संघ संस्थाहरूसंग सो दिन कार्यक्रम नजुदाईदिनु हुन अनुरोध समेत अनुरोध गरिएको छ।