५ बैशाख २०८२, शुक्रबार
18 April 2025, Friday

अफगानिस्तानमा तालिबानले ७० वर्षका बेलायती दम्पतीलाई हिरासतमा लियो

अफगानिस्तानमा तालिबानले ७० वर्षका बेलायती दम्पतीलाई हिरासतमा लियो

न्युयोर्क- अफगानिस्तानमा लामो समयदेखि शिक्षा र तालिमसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका ७९ वर्षीय बेलायती नागरिक पिटर रेनोल्ड्स र उनकी ७५ वर्षीया श्रीमती बार्बीलाई तालिबानले यस महिनाको सुरुमा पक्राउ गरेको छ। उनीहरूका चार वयस्क छोराछोरीले यो जानकारी दिएका हुन्। यद्यपि, तालिबानले उनीहरूलाई किन पक्राउ गर्‍यो भन्ने कारण अझै स्पष्ट भएको छैन।

यो दम्पतीको विवाह सन् १९७० मा काबुलमा भएको थियो। उनीहरू विगत १८ वर्षदेखि अफगानिस्तानमा बसोबास गर्दै आएका छन्। सन् २०२१ मा तालिबानले पश्चिमी समर्थन प्राप्त (असरफ गानी) सरकारलाई ढालेर सत्तामा आएपछि पनि उनीहरूले देश छाडेनन्।

दम्पतीले रिबिल्ड नामक संस्था सञ्चालन गर्छन्, जसले व्यवसाय, सरकारी निकाय, शैक्षिक संस्था र गैरसरकारी समूहहरूलाई विभिन्न शिक्षा र तालिमका कार्यक्रम दिदैँ आएको छ। यो संस्थाले शिक्षक तालिमदेखि व्यवस्थापन पाठ्यक्रमसम्मका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा महिलाको शिक्षा र गतिविधिमाथि कडा प्रतिबन्ध लगाइएको छ। संयुक्त राष्ट्रसंघलगायत संस्थाहरूले त्यहाँको अवस्थालाई महिलाका लागि पृथ्वीको सबैभन्दा खराब ठाउँको रूपमा वर्णन गरेका छन्। यस्तो अवस्थामा पनि यो दम्पतीले अफगानिस्तानमै बसेर आफ्नो काम जारी राखेका थिए।

उनीहरूका छोराछोरीले तालिबानको आन्तरिक मन्त्रालयलाई लेखिएको खुला पत्रमा भनेका छन्, ‘हाम्रा आमाबाबुले सधैँ आफ्नो कामबारे खुलाएका छन्। उनीहरूले कानून परिवर्तन भएपछि पनि त्यसको सम्मान र पालना गरेका छन्। उनीहरू कुनै अर्को धर्मको प्रचार गर्दैनन् र मुस्लिम समुदायलाई माया गर्छन्।’

पत्रमा थप भनिएको छ, ‘उनीहरूले अफगानिस्तानलाई आफ्नो घर ठानेका छन्। त्यहाँको संस्कृतिलाई सम्मान गर्छन्।’ अफगानी नागरिकतासमेत लिएका यो दम्पतीले पक्राउपछि आफ्ना छोराछोरीलाई सन्देश पठाएर पश्चिमी अधिकारीहरूको हस्तक्षेप नचाहेको बताएका थिए।

तालिबानलाई लेखिएको पत्रमा उनीहरूले भनेका छन्, ‘हामी बुझ्छौँ कि त्यहाँ यस्ता उदाहरणहरू छन् जहाँ आदानप्रदान तपाईंको सरकार र पश्चिमी राष्ट्रहरूको लागि लाभदायक भएको छ। यद्यपि, हाम्रा आमाबाबुले अफगानिस्तानप्रति आफ्नो प्रतिबद्धता निरन्तर व्यक्त गर्दै आएका छन्। आफ्नो ज्यान बलिदान दिन इच्छुक रहेको बताएका छन्।’

छोराछोरीले बेलायतमा परिवारसँग बस्ने विकल्प हुँदाहुँदै उनीहरूले अफगानिस्तानलाई आफ्नो घर बनाएको पनि उल्लेख गरेका छन्। ‘उनीहरू आफ्नो बाँकी जीवन त्यहीं बिताउन चाहन्छन् र हामी त्यसको सम्मान गर्न चाहन्छौं’ पत्रमा भनिएको छ। बेलायतको विदेश मन्त्रालयले यो घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। तर उनीहरूलाई पक्राउ गरिएको जानकारी भएको बुझिएको छ। तालिबान सरकारलाई बेलायतले मान्यता दिएको छैन। काबुलमा उसको कुनै दूतावास पनि छैन।